सप्तरीमा हैजा संक्रमण पुष्टि, लोखरम बस्ती आइसोलेट

सप्तरी, १७ कात्तिक – छिन्नमस्ता गाउँपालिका–५ लोखरममा झाडापखाला फैलिँदै गर्दा तीन जनामा हैजा (कलेरा) पोजिटिभ देखिएको छ । स्वास्थ्य कार्यालय सप्तरी र गाउँपालिकाको संयुक्त टोलीले नौ जनाको पखालाको आरडिटी परीक्षण गर्दा तीन जनामा पोजिटिभ नतिजा आएको हो ।

स्वास्थ्य संयोजक दिपेन्द्र यादवका अनुसार आरडिटी परीक्षण पूर्ण विश्वासिलो नहुने भएकाले नमुना थप परीक्षणका लागि माथिल्लो निकायमा पठाइएको छ । उनले भने, “आरडिटीले शत प्रतिशत निश्चित गर्छ भन्ने होइन, तर थप रिपोर्ट नआएसम्म हैजाको रूपमा मान्दै आवश्यक तयारी गर्नु उचित हुन्छ।”

संक्रमण देखिएपछि आइतबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले तत्काल प्रभावित क्षेत्र आइसोलेट गर्ने निर्णय गरेको छ । साथै त्यहाँ स्वास्थ्यकर्मी खटाउने र स्थानीयलाई सावधानी अपनाउन जनचेतना फैलाउने निर्णय गरिएको अध्यक्ष विद्यानन्द चौधरीले बताए ।

गत साता लोखरमको मुसहर बस्तीमा झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु भएपछि उक्त क्षेत्र स्वास्थ्य जोखिममा परेको थियो । त्यसयता गाउँमा निरन्तर निगरानी र परीक्षण सुरु गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

Facebook Comments Box