आगलागीका घटनामा वृद्धि, प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १४ मङ्सिर – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंसिर ११ गते बिहान १० बजेदेखि १२ गते बिहान १० बजेसम्म देशभर १७ वटा विपद् घटना दर्ता भए, जसबाट करिब ४९ लाख १८ हजार पाँच सय रूपैयाँ बराबरको क्षति भएको छ।
उक्त अवधिमा सबैभन्दा धेरै १४ वटा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ। झापामा मात्र चार, कैलालीमा दुई तथा मोरङ, सङ्खुवासभा, रौतहट, बारा, काठमाडौँ, नवलपरासी पश्चिम, जुम्ला र कञ्चनपुरमा एक÷एक आगलागीका घटना भएका थिए। चिसो बढ्दै गए पनि देशभर आगलागीका घटनामा वृद्धि देखिएको प्राधिकरणको निष्कर्ष छ।
मंसिर १० गते बिहान १० बजेदेखि ११ गते बिहानसम्म पनि १७ वटा विपद् घटना दर्ता भएका थिए। त्यस दिन १३ वटा आगलागीका घटना बसेका थिए भने सप्तरी र बर्दियामा सर्पदंश तथा मोरङमा दुई वटा जनावर आक्रमणका घटना भएका थिए। मोरङमा तीन, सर्पामा दुई तथा सिरहा, सर्लाही, ललितपुर, कास्की, बाग्लुङ, पर्वत, कपिलवस्तु र रुपन्देहीमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ। सो अवधिमा करिब १९ लाख ९६ हजार रुपैयाँ बराबरको क्षति भएको थियो।
यस्तै, मङ्सिर ९ गते बिहान १० बजेदेखि १० गते बिहानसम्म १३ वटा विपद् घटना भएका थिए, जसमा १० वटा आगलागीका घटना मात्र थिए। सोलुखुम्बुमा डढेलो, कञ्चनपुरमा सर्पदंश तथा पाँचथर र ताप्लेजुङमा जनावर आक्रमणका घटना दर्ता भएका थिए। मोरङ, सुनसरी, झापा, ताप्लेजुङ, कास्की, दाङ र कञ्चनपुरमा आगलागीका घटना दर्ता भएका छन्। सो अवधिमा भएको क्षति करिब १८ लाख ४३ हजार रुपैयाँ रहेको प्राधिकरणले उल्लेख गरेको छ।
मङ्सिर ७ गते बिहानदेखि ८ गते बिहानसम्म १८ वटा विपद् घटना दर्ता भएका थिए। सो दिन झापामा सर्पदंश, सिन्धुपाल्चोक र हुम्लामा जनावर आक्रमणका घटना दर्ता भए। सर्लाहीमा तीन, गुल्मीमा दुई तथा मोरङ, रौतहट, बारा, काठमाडौँ, कास्की, बाग्लुङ, कपिलवस्तु, बाँके र कैलालीमा एक÷एक आगलागीका घटना भएका थिए। उक्त दिनमा करिब ५० लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको थियो।
सुक्खा मौसम सुरू भएसँगै आगलागीका घटनामा बढेको जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले सबैलाई सतर्क रहन आग्रह गरेको छ। विशेष गरी आगो छिट्टै टिप्ने सामग्री नछोड्न, ज्वलनशील पदार्थ सुरक्षित स्थानमा राख्न तथा आगजनीबाट बच्न आवश्यक सावधानी अपनाउन प्राधिकरणले ध्यानाकर्षण गराएको छ।

