मनास्लु क्षेत्रमा लगातारको वर्षा र हिमपात : पर्यटक अलपत्र, उद्धार कार्य जारी

गोरखा, १७ कार्तिक – केही दिनअघिको लगातार वर्षा र हिमपातका कारण मनास्लु क्षेत्रमा रहेका पर्यटकहरूले गम्भीर सास्ती भोग्नुपरेको छ। पदयात्रा र पर्वतारोहणका क्रममा विभिन्न स्थानमा दुर्घटना, बेपत्ता र घाइते हुने घटनाहरू बढेका छन्।

गत शुक्रबार चुमनुब्री गाउँपालिका–३ न्याकफेदीमा माथिबाट ढुंगासहित खसेको लेदो पहिरोमा चेक गणतन्त्रकी ५४ वर्षीया क्याटरिना रस्कोभा बेपत्ता भएकी छन्। सामागाउँबाट फर्कँदै गर्दा उनी पहिरोमा पुरिएको स्थानीयले बताएका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले स्थानीयको सहयोगमा खोजी कार्य सुरु गरेको छ। प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, ‘इन्स्पेक्टर अनिल श्रेष्ठको नेतृत्वमा टोली पहिरो पन्छाउने र तटीय क्षेत्रमा समेत खोजी कार्यमा जुटेको छ।’

यसैबीच, पाङबारी हिमाल आरोहणका क्रममा हिमपातमा फसेका दुई इटालियन नागरिक अझै सम्पर्कविहीन छन्।सम्पर्क हीनमध्ये ६७ वर्षीय स्टेफानो फारोनाटो र ३७ वर्षीय एलेस्यान्ड्रो गपुटो रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

ती दुबैसँग रहेका थप एक जना इटालियन र तीन जना नेपाली गाइड तथा सहयोगीको उद्धार भए पनि फारोनाटो र गपुटो भने फेला परेका छैनन्। ‘शुक्रबारसम्म उनीहरूसँग सम्पर्क थियो,’ डीएसपी श्रेष्ठले बताए, ‘तर त्यसपछि सम्पर्क टुटेको ट्रेकिङ एजेन्सीले जनाएको छ।’

काठमाडौंबाट खटिएको पर्वतीय खोज तथा उद्धार टोली हेलिकप्टरमार्फत साम्दो पुगेको एसपी भरतबहादुर विकले बताए।
‘कैलाश एयरको हेलिबाट तीन जनाको टोली साम्दो पुगेको छ,’ उनले भने, ‘त्यहाँबाट पैदल हिँडेर खोजी कार्य अघि बढाइनेछ।’

यसैबीच, चुमनुब्री गाउँपालिका–५ बुर क्षेत्रमा ढुंगा खस्दा काठमाडौं टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल गम्भीर घाइते भएका छन्।
सामागाउँबाट फर्कँदै गर्दा ढुंगा लागेर घाइते भएका उनलाई तीन दिनपछि मौसम खुल्नासाथ हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

एसपी विकका अनुसार, ‘मौसम खराब हुँदा हेली पटक–पटक उड्न सकेन। शनिबार पोखराबाट सिम्रिक एयरको हेलीमार्फत उद्धार गरी घाइतेलाई एम्बुलेन्समार्फत ग्रान्डी अस्पताल पुर्याइएको हो।’

अलपत्र पर्यटकको उद्धार तीव्र
मौसम खुल्नासाथ अहिले मनास्लु क्षेत्रमा अलपत्र पर्यटकको उद्धार कार्य तीव्र भएको छ। एसपी विकका अनुसार, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा हेलीमार्फत उद्धार जारी छ। आज पनि लगातार उडान भइरहेको छ।’

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार, कात्तिक २ देखि १६ गतेसम्म २,५३४ जना पर्यटक उक्त क्षेत्रमा प्रवेश गरेका थिए। तीमध्ये करिब दुई हजार जनाको उद्धार भइसकेको बताइएको छ।

पहिरोले चार घर र कुखुरा फर्ममा क्षति
अविरल वर्षाका कारण चुमनुब्री गाउँपालिका–३ पाङसिङमा आएको लेदो पहिरोले चार घरमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, जुकबहादुर गुरुङ, सर्किनी गुरुङ, धन्डुक गुरुङ र कमला गुरुङका घरहरूमा क्षति पुगेको छ।

घरभित्र लेदो पसेका कारण पशुचौपाया र घरायसी सामग्री बगेका छन्। त्यस्तै, स्थानीय देवेन्द्र गुरुङको कुखुरा फर्म बगाउँदा करिब ५० देखि ६० वटा कुखुरा मरेका छन्। प्रभावितहरू अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छन्।

मनास्लु क्षेत्रको यो विपद्‌पछि स्थानीय प्रशासनले पर्यटकको सुरक्षाका लागि मौसम स्थिर नभएसम्म पर्वतारोहण र पदयात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box