वैशाखयता चार हजार ६०० भन्दा बढी विपद्जन्य घटना

काठमाडौँ, १६ कात्तिक – चालु आर्थिक वर्षको वैशाखदेखि कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन्। ती घटनामा परी ३३५ जनाको मृत्यु, ४१ जना बेपत्ता र १,२६४ जना घाइते भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, सो अवधिमा बाढीका ३१६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन्।

त्यस्तै, पहिरोका ५५० घटनामा ६७ जनाको मृत्यु र ४ जना बेपत्ता भएका छन्। चट्याङका ३५६ घटनामा ४४ जनाको मृत्यु, सर्पदंशका ५३८ घटनामा ९२ जनाको मृत्यु, र जनावरको आक्रमणका २६९ घटनामा २५ जनाको मृत्यु र एक जना बेपत्ता भएका छन्।

प्राधिकरणका अनुसार, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु, भारी वर्षाका ४२० घटनामा सात, आगलागीका १,६१४ घटनामा २६, र हुरीबतासका २८६ घटनामा आठ जनाको मृत्यु भएको छ। त्यसैगरी, हिउँ पहिरोमा परी नौ जना बेपत्ता भएका छन्। केवल शनिबार मात्रै देशभर ४६ विपद्जन्य घटना दर्ता भएका थिए, जसमा २ जनाको मृत्यु भएको र ३१ जिल्ला प्रभावित बनेको प्राधिकरणले जनाएको छ।

Facebook Comments Box