सिल्मी–ठूलीपोखरी–कार्कीनेटा सडक जोखिमपूर्ण
पर्वत, १६ कात्तिक – सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड निर्माण व्यवसायीको लापरवाहीका कारण जोखिमपूर्ण बनेको छ। पोखरा–बागलुङ राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको यो सडकमा दैनिक सयौँ सवारीसाधन चल्ने गर्छन्। तर, समयमा काम नगरी सडक अलपत्र छाडिँदा यात्रुहरूलाई निकै सास्ती भएको छ।
सिल्मी–ठूलीपोखरी सडकको पोखरी घुम्ती, लौकेको उकालोलगायत स्थानमा सोलिङका ढुङ्गा उप्काएर अन्यत्र लगिएको र त्यस ठाउँमा ग्राभेललगायत सामग्री नहाल्दा सवारीसाधन आवागमनमा कठिनाइ भएको स्थानीयवासीहरूले बताएका छन्। यस कारण विद्यालय जाने विद्यार्थी र बिरामीहरूलाई पनि समस्या भएको छ।
कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलकप्रसाद रिमालका अनुसार, हिलो हुने समयमा सोलिङ उप्काएर ढुङ्गा लाने तर बाटो मर्मत नगर्ने कार्यले स्थानीयलाई समस्यामा पारेको हो। “हामीले पटकपटक निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गर्न आग्रह गरेका छौँ,” उहाँले भन्नुभयो, “तर उनीहरूले ध्यान दिएका छैनन्, कतिपयले उल्टै गालीसमेत गर्छन्।”
स्थानीय बासिन्दा तथा यातायात व्यवसायी सुरेश केसीका अनुसार, सडक बिग्रँदा कुश्मा, पोखरा र आसपासका क्षेत्रमा सवारीसाधन चलाउन मुस्किल भएको छ। “मर्मत माग्दा निर्माण व्यवसायीले धम्क्याउनेसम्म गर्छन्,” उहाँले बताए। यस सडक निर्माण र अनुगमनको जिम्मेवारी लिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले समस्या समाधानका लागि ठेकेदारलाई पटकपटक निर्देशन दिएको बताउनुभयो।
“हामीले तत्काल सडक मर्मत गर्न भनेका छौँ, तर निर्माण व्यवसायीले अटेरी गरेकाले यस्तो समस्या आएको हो,” उहाँले स्पष्ट पार्नुभयो, “अब स्थानीय जनता र जनप्रतिनिधिले पनि दबाब दिनुपर्छ।” सडकमा सोलिङ उप्किएपछि साना गाडी, मोटरसाइकल र पैदल यात्रुका लागि दुर्घटनाको जोखिम बढेको छ। स्थानीयहरूले सम्बन्धित निकाय र निर्माण कम्पनीलाई तत्काल मर्मत गरी सडकलाई सुरक्षित र व्यवस्थित बनाउन माग गरेका छन्।
पूर्वाधार विकास कार्यालयका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा रु. ५ करोड ८० लाख बजेट स्वीकृत भएको सो सडक पाँच किलोमिटर लम्बाइमा स्तरोन्नति गर्न थालिएको हो। चालु आवमा काम सकिनुपर्ने भए पनि अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यस सडकमा कालोपत्र, ढलान, नाली, टेवा पर्खाल र जाली लगाउने काम हुने उल्लेख गरिएको छ।

