दिक्तेल रुपाकोट मझुवागढीमा मासु उत्पादनका लागि राँगापालन

खोटाङ, १८ भदौ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मासु उत्पादनलाई लक्षित गर्दै व्यावसायिक राँगापालन प्रभावकारी बन्दै गएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित रु ४३ लाख बजेटमार्फत समूह तथा व्यक्तिको २५ प्रतिशत लागत सहभागितामा तराईबाट उन्नत जातका ४०० राँगा खरिद गरी किसानलाई वितरण गरेको हो।

नगरपालिकाका पशु शाखा प्रमुख गणेशप्रसाद आचार्यका अनुसार वडा नं. ३ बाम्राङमा ८३, वडा नं. ४ खाल्लेमा ५९, वडा नं. ५ लफ्याङमा ५२, वडा नं. ७ दोर्पाचिउरीडाँडामा १५ र वडा नं. १५ विजयखर्कमा ४१ राँगा वितरण गरिएको छ। बजेट कृषक समूहको खातामा जम्मा गरी समूहले नै खरिददेखि ढुवानी र वितरणसम्मको काम सम्पन्न गरेको जनाइएको छ।

“नगरवासीलाई स्वरोजगार बनाउने र मासु उत्पादनमा आत्मनिर्भरता ल्याउने उद्देश्यले लागू गरिएको कार्यक्रम प्रभावकारी बन्दै गएको छ,” उपप्रमुख विशन राईले बताउनुभयो। उहाँका अनुसार अघिल्लो वर्ष खरिद गरिएको राँगामध्ये प्रत्येकको मूल्य रु ६० हजारसम्म पुगेको थियो। चालु आवमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन योजना अघि सारिएको छ।

राँगापालन कार्यक्रममार्फत प्राङ्गारिक मल उत्पादन समेत हुने भएकाले तरकारी तथा अन्य कृषि उपजमा वृद्धि हुने अपेक्षा नगरपालिकाले गरेको छ। स्थानीय तहकै बजेटमार्फत कृषिलाई व्यवसायीकरण गर्ने नीति अघि बढाइएको हो।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढीले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया र तरकारी खेतीलाई पनि अनुदान उपलब्ध गराउँदै आएको छ। वडा नं. ६ नेर्पा र वडा नं. १४ बुइपामा स्थापना गरिएको कफी नर्सरीमा हाल १७ लाख बिरुवा हुर्काइएका छन्।

नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीका अनुसार आफ्नै नर्सरीमा उत्पादन भएका बिरुवा सस्तो र गुणस्तरीय हुने भएकाले बाहिरबाट खरिद गर्नुपर्ने अवस्था हटेको छ। दुवै नर्सरीमा दैनिक करिब १०० जना मजदुर खटिएका छन्। नगरपालिकाले आकलन गरेको छ, कफी उत्पादन सुरु भएपछि वार्षिक करिब रु १२ अर्बको आम्दानी भित्रिनेछ।

Facebook Comments Box