अझै खाद्य व्यवस्था कम्पनीले धान खरिद सुरु गर्न सकेन

किसान व्यापारीलाई सस्तोमा बेच्न बाध्य, कोटा घटाइँदा असन्तुष्टि

बाँके, १५ कात्तिक – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा किसानसँग धान खरिद प्रक्रिया सुरु नगर्दा किसानहरू व्यापारीलाई कम मूल्यमा धान बेच्न बाध्य भएका छन्। नेपालगञ्ज–१९ सुइयागाउँका किसान ललवा माहुत का अनुसार कम्पनीले खरिद सुरु नगर्दा किसानले बजारमा बाध्य भएर नौ सय क्विन्टलभन्दा बढी धान समर्थन मूल्यभन्दा कम दरमा बिक्री गर्नुपरेको छ।

“सरकारले तोकेको मूल्य व्यापारीले दिँदैनन्,” उनले भने, “खाद्य कम्पनीले ढिलाइ गर्दा हामी घाटामा बेच्न बाध्य छौँ।” किसानहरूका अनुसार धान खरिद सुरु भए पनि कम्पनीले कम मात्रामा धान लिने, विभिन्न मापदण्डका कारण धेरै धान फिर्ता पठाउने र रकम भुक्तानीमा ढिलाइ गर्ने जस्ता समस्या दोहोरिँदै आएका छन्।

नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख रामशरण लामिछाने का अनुसार यस वर्ष मोटा धान १५ हजार र मध्यम धान पाँच हजार क्विन्टल खरिद गर्ने गरी कोटा तोकिएको छ। गत वर्ष भने कम्पनीले ३२ हजार क्विन्टल धान खरिद गरेको थियो।

लामिछानेले भने, “यो वर्ष कोटा घटेर आएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा भएकाले नयाँ सीडीओ आएपछि खरिद समितिको बैठक बसेर धान खरिद सुरु गर्ने तयारी भइरहेको छ।” सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल रु. ३,४६३.८१ र मध्यम धानको मूल्य रु. ३,६२८ तोकेको छ।

हाल कार्यालयमा गत वर्ष खरिद गरिएको करिब २० हजार क्विन्टल चामल मौज्दात भएकाले भण्डारणको ठाउँ अभाव पनि धान खरिद ढिलाइको एउटा कारण बनेको कम्पनीका प्रमुख लामिछानेले जानकारी दिए।

Facebook Comments Box