गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल
लेकबाट फर्किएका गोठालासँग गाउँमा भेटघाट, बस्तुभाउले भरिए बारी
बागलुङ, १५ कात्तिक – बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङ अहिले चहलपहलमय बनेको छ। बारीभरि गाईगोरु, भैँसी, भेडा र बाख्रा चरिरहेका छन्, र छेउमै गोठालाहरू गफिँदै आफ्ना आफन्तसँग भेटघाटमा रमाइरहेका छन्। चार महिनासम्म लेकमा बसिसकेर बेँसी झरेका गोठालाले अहिले गाउँमा चहलपहल ल्याएका हुन्। जेठ–असारमा लेक चढ्ने र असोजमा बेँसी झर्ने परम्पराअनुसार यस वर्ष पनि उनीहरू गाउँ फर्किएका हुन्।
गाई, भैँसी, भेडा र बाख्राले भल्कोट, भर्कोबाङ, मोराखोला र भिबाङका बारी तथा खर्कहरू ढाकिएका छन्। एकै परिवारले सयौँ बस्तुभाउ पाल्ने भएकाले गोठालाहरू अस्थायी गोठमा बसोबास गर्छन्। स्थानीय मनबहादुर बोहरा का अनुसार लेक क्षेत्र (बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना) पातिहाल्ने, रिग, तिलाचन र खानीखोला जस्ता स्थानमा बसेर बर्खाभरि पशु चराउने गोठालाहरू अहिले बेँसी क्षेत्र फर्किएका हुन्।
“अब गहुँ, जौँ छरेपछि गुम र खर्चनतिर गोठ सार्छौं,” उनले भने। त्यस्तै, स्थानीय ढालेन्द्र घर्ती मगर ले असोज तेस्रो सातातिर मात्रै बेँसी झरेको बताए। उनका अनुसार, “लेकमा गाईभैँसी र भेडाबाख्रा एउटै ठाउँमा राखिन्छ, तर बेँसीमा आ–आफ्नो बारीमा छुट्टै बाँधिन्छ, त्यसैले अहिले बारीभरि बस्तुभाउ देखिन्छ।”
पहिले आफ्ना घरमा झण्डै सय गाई–गोरु हुने बताए पनि अहिले सङ्ख्या घटेको उनको भनाइ छ। “अब बस्तुभाउ पाल्न निकै गाह्रो छ,” उनले भने, “वर्षभरि चरन खोज्दै गोठ सार्नुपर्छ, घाँस काट्न, पानी लैजान र बारी स्याहार्न कठिन हुन्छ।”
स्थानीय किसान कुम्भीरा मगर ले ५१ वटा गाई पालेका छन्। तर उनी भन्छन्, “यो परम्परा निरन्तरता दिएका छौं, तर व्यावसायिक बनाउन सकेका छैनौं।” गाई पाल्दा बारीमा मल पुग्ने फाइदा भए पनि दूध–घ्यू बिक्री गर्न नसकिएको उनले बताए। “वर्षमा २० हजार रुपैयाँजति मात्रै आम्दानी हुन्छ,” मगरले भने, “तर गाई पाल्ने चलन पुरानै संस्कार भएकाले निरन्तरता दिएका छौं।”

