आज हरिबोधिनी एकादशी : तुलसी–दामोदर विवाहका साथ विष्णु जागरण पूजा

काठमाडौँ, १५ कात्तिक – वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज हरिबोधिनी एकादशी पर्व मनाउँदै घरमा रोपिएको तुलसीको भगवान् दामोदर (विष्णु) सँग विधिपूर्वक विवाह गरी विशेष पूजा–अर्चना गर्दैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशी का दिन मनाइने यो पर्वलाई प्रबोधिनी वा हरिबोधिनी एकादशी पनि भनिन्छ।

यस दिनलाई आसार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी का दिन क्षीरसागरमा निद्रामा गएका भगवान् विष्णु जाग्रत हुने दिनका रूपमा मनाइन्छ। हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मका चार महिना विवाह, ब्रतबन्धलगायत माङ्गलिक कार्य नगर्ने परम्परा रहँदै आएको छ। यो अवधिमा वर्षा, बाढी, पहिरो र सर्पको भयका कारण यात्रा नगर्नु पनि शुभ मानिन्छ।

आजका दिन घरघरमा तुलसीको मठलाई गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ। त्यसपछि तुलसीको दामोदरसँग प्रतीकात्मक विवाह गरिन्छ। विष्णुप्रिया मानिने तुलसीको मठ नजिक निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गर्ने परम्परा छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल का अनुसार कात्तिक महिनाभर तुलसीमै देवदेवीको वास हुने विश्वास छ।

तुलसीको मठलाई तीर्थ समान मानिन्छ, र तुलसीको पूजा गरिएको घरमा यमदूत प्रवेश नगर्ने धार्मिक आस्था छ। तुलसीको औषधीय गुण वैज्ञानिक रूपमा पनि प्रमाणित छ। यसको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलो जस्ता रोगमा उपयोगी हुन्छ। तुलसीको सुगन्धले वातावरण पवित्र बनाउने तथा लामखुट्टे र विषालु सर्प टार्ने जनविश्वास पनि रहिआएको छ।

कात्तिक महिनामा तुलसीको माला लगाउने र एक लाख तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्नेले मनोकामना पूरा हुने विश्वास छ। गरुड पुराण अनुसार एउटा तुलसीपत्र अर्पण गर्दा दश हजार गाई दान गरे बराबरको पुण्य प्राप्त हुन्छ। यस दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने तथा राति “गोविन्द उठ्नुस्, तपाईँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्टा र ढोल बजाएर विष्णु जागरण गर्ने चलन छ।

किसानहरूले आज उखुको बोट तुलसी मठमा गाड्ने गर्छन्। व्रतधारीले अन्न त्यागी सखरखन्ड, पिँडालु, वनतरुल आदिको फलाहार गर्छन्। यसरी व्रत गरेमा पाप नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्त हुने विश्वास छ। आजका दिन धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्छ।

त्यस्तै काठमाडौँका चार नारायण (शेष, इचङ्गु, विशङ्खु र चाँगुनारायण) मन्दिरमा पनि विशेष भीड हुन्छ। बूढानीलकण्ठ नारायणस्थान वा नारायणहिटको चातुर्व्युह नारायणको दर्शन गरे चारै नारायणको दर्शन बराबर फल प्राप्त हुने विश्वास रहेको मठाधीश डा. राजेश्वरानन्द ले बताएका छन्।

Facebook Comments Box