सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

काठमाडौँ, १७ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीच भएको वार्ता सकारात्मक रहेको बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीबीच भएको वार्तामा सम्भव हुने खालका मागहरू पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने विषयमा सहमति भएको छ। “वार्ता सकारात्मक छ। संविधान र कानुनको सीमाभित्र रहेर अहिलेको सरकारले के–कति माग सम्बोधन गर्न सक्छ

र आगामी सरकारले कुन माग पूरा गर्न सक्छ भन्ने विषयमा केस्रा–केस्रा छलफल भएको छ,” उहाँले भन्नुभयो, “सरकारको दायरा र जिम्मेवारीभित्र रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ।”

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले अभियानका मागहरूलाई गम्भीरतापूर्वक लिएको र संयोजक प्रसाईंले अभियानका मागप्रति सरकारको ध्यानाकर्षण गराएको जनाइएको छ।

Facebook Comments Box