ओझेलमा परेको भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’
भोजपुर, १३ कात्तिक – टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ आज पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिए पनि यस देवस्थलले अझै आवश्यक ध्यान पाउन सकेको छैन ।
स्थानीय बासिन्दाले वर्षौँदेखि सत्यदेवीलाई साक्षात् देवीका रूपमा पूज्ने परम्परा चलाइरहेका छन् । साउन महिनाबाहेक वर्षभरि हरेक सोमबार यहाँ पञ्चबलि पूजा हुने गर्छ । स्थानीय राजकुमार राईका अनुसार, “यो भोजपुर जिल्लाको एक प्रसिद्ध धार्मिकस्थल हो । देशभरबाट भक्तजन पञ्चबलि पूजा गर्न आउँछन्, तर प्रचार–प्रसार नहुँदा अहिले पनि ओझेलमा छ ।”
मन्दिरका पुजारी कुलबहादुर नाछिरिङ राईले जानकारी दिनुभयो कि सरकारी जागिर पाउने, विदेश जाने वा ठूलो कार्य सफल होस् भन्ने भाकलका साथ धेरै भक्तजन यहाँ पूजाआजा गर्न आउने गर्छन् । सोमबारको दिन विशेषगरी यहाँ ठूलो भीड लाग्ने बताइन्छ ।
जीर्ण अवस्थामा पुगेको मन्दिरलाई स्थानीयको सक्रियतामा संरक्षण गरिएको सत्यदेवी मन्दिर संरक्षण समितिले जनाएको छ । संरक्षणका लागि पुरातत्व विभागबाट सात लाख रुपैयाँ र प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन भई मन्दिरसँगै धारा र शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ ।
भक्तजनको सुविधाका लागि स्थानीयले छवटा पाटीपौवा समेत निर्माण गरेका छन् । धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण यो क्षेत्रको समुचित विकास र प्रचारमा राज्यले ध्यान दिनुपर्ने माग स्थानीयले राखेका छन् ।

