‘दाता’को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

तनहुँ, १३ कात्तिक – व्यास नगरपालिका–१० दुम्सीमा विसं २०७६ देखि सञ्चालनमा रहेको गौ संरक्षण केन्द्रले छाडा गाईहरूको हेरचाहका लागि ठूला काम गर्दै आएको छ । जथाभावी गाई छाडिँदा सडकमाथि दुर्घटना बढ्ने र फोहर फैलिने समस्या समाधान गर्न नगरपालिकाले केन्द्र स्थापना गरेको हो । यसको व्यवस्थापनमा नगरपालिकासँगै विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगले ठूलो भूमिका खेलेको छ ।

गौ संरक्षण समितिका अध्यक्ष तुल्सीराम सापकोटाका अनुसार हाल केन्द्रमा एक सय पचासभन्दा बढी गाई रहेका छन् । “जन्मदिन, वैवाहिक वर्षगाँठजस्ता अवसर पारेर विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोगकै कारण केन्द्र सञ्चालन सहज बनेको छ,” उहाँले बताउनुभयो ।

केन्द्र स्थापनाका लागि तत्कालीन वडाध्यक्षसमेत रहनुभएका सापकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको थियो । मादी नदी किनारको तीन सय रोपनी सार्वजनिक जग्गामा तारबार गरी केन्द्र सञ्चालनमा ल्याइएको हो ।सापकोटाले भन्नुभयो, “स्थापनाको सुरुवातमा तीन सय रोपनीमा तारबार गर्न पनि सहज थिएन । हरेक वर्षको बजेटबाट क्रमशः तारबार गर्दै अहिले पूर्ण रूपमा सुरक्षित क्षेत्र तयार भएको छ ।”

दूध नदिने गाईलाई कहाँ लैजाने भन्ने समस्यामा रहेका स्थानीय बासिन्दा यस केन्द्रबाट लाभान्वित भइरहेका छन् । केन्द्रमा रहेका गाई मरेपछि पनि त्यसको सदुपयोगबारे योजना बनाइएको छ । “गाई मरेपछि छाला निकालेर राख्छौँ, गिद्धहरू आएर खान्छन्, हड्डीलाई गाड्छौँ,” सापकोटाले बताउनुभयो, “अब हड्डीबाट आम्दानी लिनका लागि आवश्यक उपकरण खरिद गर्ने तयारीमा छौँ ।”

केन्द्रले फोहर व्यवस्थापनलाई समेत उपयोग गर्दै बायोग्यास उत्पादन सुरु गरेको छ । दमौली बजारका कुहिने फोहर र गाईको मलमूत्र प्रयोग गरेर ग्यास उत्पादन भइरहेको समितिले जनाएको छ । हाल केन्द्र सञ्चालनका लागि व्यास नगरपालिकाको सहयोगमा तीन र समितिबाट एक गरी चार जना कर्मचारी खटाइएको छ । नगरपालिकाले पराल खरिदका लागि मासिक पाँच लाख रुपैयाँ सहयोग गर्दै आएको पनि जानकारी दिइएको छ ।

Facebook Comments Box