रौतहटका १० पालिकाले सार्वजनिक गरे नयाँ आर्थिक वर्षको बजेट
रौतहट, १० असार- रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १० वटाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नगरसभा सम्पन्न गर्दै बजेट सार्वजनिक गरेका छन्। चन्द्रपुर, गौर, राजदेवी, इशनाथ, गढीमाई, माधवनारायण, बौधीमाई, राजपुर, कटहरिया र गरुडा नगरपालिकाले नगरसभा सम्पन्न गरेका हुन्।
चन्द्रपुर नगरपालिकाले १ अर्ब २१ करोड ५९ लाख रुपैयाँभन्दा बढी बजेट प्रस्ताव गरेको छ। उपप्रमुख जयमाला चौधरीका अनुसार अधुरा आयोजनाको सम्पन्नता, बालश्रममुक्त र बालविवाहमुक्त कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। नगरप्रमुख सञ्जयकुमार काफ्लेले जनताका आवश्यकता समेटिनेगरी बजेट विनियोजन गरिएको बताएका छन्। अघिल्लो वर्षको तुलनामा यसपालि करिब २५ करोडले बजेट घटाइएको छ।
गढीमाई नगरपालिकाले ५४ करोड ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ, जसमा पुँजीगततर्फ १९ करोड १५ लाख र चालूतर्फ ३५ करोड ७६ लाख विनियोजन गरिएको छ। इशनाथ नगरपालिकाले ४९ करोड ६५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने
राजपुर नगरपालिकाले ५७ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ, जहाँ सामाजिक विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी प्राथमिकतामा छन्। कटहरिया नगरपालिकाको बजेट ५४ करोड २५ लाख रुपैयाँ रहेको छ। बाकी ८ पालिकाले — वृन्दावन, गुजरा, मौलापुर, देवाही गोनाही, फतुवा विजयपुर, परोहा, दुर्गा भगवती र यमुनामाई — बजेट सार्वजनिक गर्न बाँकी छन्।

