आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ, १३ कात्तिक – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेबाट ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्दैछ। गत असोज २८ गतेदेखि सुरु भएको बैठक ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक अवस्था तथा त्यसमा पार्टीको भूमिकाबारे केन्द्रित रहेको जनाइएको छ।

आजको बैठकमा मुख्य रूपमा पार्टीको १५औँ महाधिवेशनका तयारी र सम्भावित समयबारे विस्तृत छलफल हुने बताइएको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको कार्यकाल मङ्सिरभित्र समाप्त हुँदैछ। यस सन्दर्भमा पार्टीले नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा आन्तरिक बहस जारी छ।

नियमित महाधिवेशन नहुने स्थिति देखिएपछि केही नेताहरूले विशेष महाधिवेशनको मागसहित प्रतिनिधिहरूको हस्ताक्षर अभियान चलाएका थिए। उक्त अभियानमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले समर्थन जनाएका छन्। असोज २८ गते सुरु भएको बैठकको आरम्भमा सभापति देउवाले स्वास्थ्य कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।

त्यसयता बैठक खड्काको सभापतित्वमा सञ्चालन हुँदै आएको छ। तिहार र छठ पर्वका कारण बैठक केही समय स्थगित भएपछि यही कात्तिक १ गते बसेको अन्तिम बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आज पुनः बैठक बस्ने निर्णय गरेको थियो।

Facebook Comments Box