प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँदै हुनुहुन्छ । महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो । उहाँले असोज ८ गते महासभालाई सम्बोधन गर्नुभएको थियो ।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो । उहाँले हिमाली क्षेत्रमा बढ्दो जलवायुजन्य जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु संकटमा न्यून योगदान गरेका नेपालजस्ता देशले ठूलो मूल्य चुकाइरहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री शाहले ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै हिमनदी पग्लिने, पहिरो र बाढीजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिएको बताउनुभएको थियो । उहाँले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित गर्न नहुने धारणा राख्दै जलवायु संकटको लागत कसले बेहोर्ने र निर्णय प्रक्रियामा कसको आवाज सुनिने भन्ने विषय महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको थियो ।

भेटवार्ताका क्रममा नेपालको प्राथमिकता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । महासभामा प्रधानमन्त्री शाहको सम्बोधनपछि उहाँको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल आज स्वदेश फर्किन लागेको हो ।

Facebook Comments Box