राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने

काठमाडौँ, १२ कात्तिक – सरकारले राष्ट्रियसभा सदस्यका रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते (आइतबार) निर्वाचन गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन मिति तय गर्दै सो दिन मतदान गर्ने निर्णय गरेको हो। नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठकका निर्णयहरूबारे जानकारी दिनुभयो।

मन्त्री खरेलका अनुसार बैठकले राष्ट्रियसभा निर्वाचन मिति निर्धारणका साथै अन्य पाँच प्रमुख निर्णयहरू गरेको छ। तीमध्ये प्रमुख निर्णयहरू यसप्रकार छन् —

  • नेपाल र मौरिससबीच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने,

  • सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा हेरफेर गर्ने,

  • स्वकीय सचिवालयको दरबन्दी घटाउने,

  • छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने, र

  • अनलाइन मिडियाको दर्ता तथा नवीकरणसम्बन्धी व्यवस्था राजपत्रमा प्रकाशित भएपछि लागू गर्ने व्यवस्था मिलाउने।

मन्त्री खरेलले अनलाइन मिडिया दर्ता र नवीकरण प्रक्रियालाई व्यवस्थित गर्न सूचना विभागमार्फत कार्यान्वयन हुने प्रणाली तयार भइसकेको जानकारी पनि दिनुभयो।

त्यसैगरी, बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतारको दोहा भ्रमण (कात्तिक १७–२०) लाई औपचारिक स्वीकृति दिएको छ। राष्ट्रपतिको नेतृत्वमा नेपालले “सेकेन्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ट” मा सहभागिता जनाउने कार्यक्रम रहेको प्रवक्ता खरेलले जानकारी दिनुभयो।

Facebook Comments Box