वन पैदावर बिक्रीबाट आठ करोडभन्दा बढी आम्दानी
तनहुँ, १० कात्तिक – तनहुँका सामुदायिक वन समूहहरूले वन पैदावर बिक्रीबाट गत आर्थिक वर्षमा रु ८ करोड ४३ लाख ४ हजार ५०३ आम्दानी गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा विभिन्न प्रकारका काठ, दाउरा र अन्य वन उत्पादन बिक्री गरी सो रकम संकलन गरिएको हो।
डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी तथा वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार सो अवधिमा ८३ हजार ५१३ दशमलव ४५ क्युफिट वन पैदावर बिक्री भएको छ। यसमध्ये ४० हजार ३३१ दशमलव ९५ क्युफिट साल, ४१ हजार १०३ दशमलव ८० क्युफिट खयर र २ हजार ९११ दशमलव ८६ क्युफिट अन्य वन पैदावर रहेको उनले जानकारी दिए। यस्तै ५० दशमलव १५ चट्टा दाउरा पनि बिक्री भएको छ।
जिल्लाको कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वन क्षेत्रले ओगटेको छ। यहाँ ६१६ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन रहेका छन्। वन पैदावर बिक्रीबाट मात्रै रु १ करोड २० लाख ४ हजार ९८६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ।
निजी स्वामित्वमा रहेका वनहरूबाट पनि उल्लेख्य मात्रामा पैदावर बिक्री भएको छ— जसअनुसार ५१ हजार ४५४ दशमलव ७५ क्युफिट वन पैदावर निजी क्षेत्रमा बिक्री भएको छ। श्रेष्ठका अनुसार सो अवधिमा निजी वनबाट ४३ हजार ३२४ दशमलव ८ क्युफिट खयर, ९ हजार १३० दशमलव ६७ क्युफिट अन्य काठ र ८६ दशमलव १५ चट्टा दाउरा बिक्री भएको छ।

