निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा सफल बनाउन प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौँ, १० कात्तिक – प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी सफल बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले सूर्य आराधनाको महान् पर्व छठका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमार्फत् आगामी निर्वाचनलाई राष्ट्रिय एकताको अवसरका रूपमा लिन आग्रह गर्नुभएको हो।

सन्देशमा भनिएको छ —

“आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।”

प्रधानमन्त्रीले ‘जेनजी आन्दोलन’पछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै निर्वाचन सम्पन्न गर्नु अहिलेको साझा दायित्व भएको उल्लेख गर्दै सबै पक्षले परिस्थितिको संवेदनशीलता बुझी आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभएको छ।

सन्देशमा भनिएको छ —

“सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना अडान वा असन्तुष्टि भए पनि शान्तिपूर्ण तवरले राखी, आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो।”

छठ पर्वको सन्दर्भमा प्रधानमन्त्रीले सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानकका रूपमा हाम्रा चाडपर्वहरूको महत्व स्मरण गराउँदै अहिले सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ।

“पवित्र आस्था, कठिन व्रत र सिँगारिएका नदी–तलाउका किनाराका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसियाली छाओस्,” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ।

सन्देशमा छठ पर्वले सत्य, अहिंसा र प्रकृतिप्रेममा अभिप्रेरित गर्ने मात्र नभई तराई–पहाड जोड्ने सांस्कृतिक सेतुका रूपमा विकसित भइरहेको पनि उल्लेख गरिएको छ।

Facebook Comments Box