छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

काठमाडौँ, १० कात्तिक – कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बस्ने व्रतालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ। चार दिनसम्म चल्ने यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन हुन्छ।

पौराणिक ग्रन्थ महाभारत अनुसार द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए। त्यस समयदेखि नै छठ पर्व मनाउने परम्पराको सुरुवात भएको जनविश्वास छ। यस्तै सूर्य पुराण अनुसार अत्रिमुनिकी पत्नी अनुसूया (अनुसूर्य) ले व्रत गरेकी थिइन् र उनको सौभाग्य अटल बनेको थियो। त्यसै समयदेखि यो पर्व मनाउने प्रचलन सुरु भएको बताइन्छ।

सूर्यलाई जीवन र उर्जाको स्रोत मानिने भएकाले छठ पर्वलाई अत्यन्त पवित्र र वैज्ञानिक चाडका रूपमा पनि हेरिन्छ। सूर्यको किरणबाट अनेक रोगहरूको उपचार हुने जनविश्वास रहँदै आएको छ। साम्ब पुराण अनुसार श्रीकृष्णका पुत्र साम्ब सूर्य उपासना गरेर कुष्ठरोगबाट मुक्त भएका थिए।

छठ पर्वमा व्रत गरे दुःख, दरिद्रता र रोगबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। व्रतालुले सूर्यदेवलाई फलफूल, मिष्ठान्न र सात्विक सामग्री अर्पण गरी परिवारको कल्याण र समृद्धिको कामना गर्छन्। आर्थिक अभाव भएकाले पनि श्रद्धा र आस्थाका साथ यो पर्व भिक्षा मागेरै मनाउने परम्परा छ।

व्रतविधि र पूजाको क्रम

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने चलन छ। पञ्चमीका दिन ‘खरना’ गरी सखर मिसाइएको खीर षष्ठी मातालाई चढाइन्छ र प्रसादस्वरूप ग्रहण गरिन्छ। त्यसपछि नुनरहित एक छाक फलाहार गर्ने परम्परा रहँदै आएको छ।

मुख्य दिन षष्ठीका दिन कठोर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ। रातभर जाग्राम बस्ने बर्तालुले भोलिपल्ट सप्तमीका बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत समापन गर्छन्। धार्मिक विश्वासअनुसार यसरी सूर्य आराधना गर्ने व्यक्तिलाई चर्मरोग नलाग्ने र दीर्घायु प्राप्त हुने मानिन्छ।

विसं २०४६ अघि सीमित रूपमा तराई क्षेत्रमा मनाइने यो पर्व अहिले राष्ट्रिय स्तरको चाडका रूपमा स्थापित भइसकेको छ। सरकारले विसं २०४६ यता यस अवसरमा सार्वजनिक बिदा दिने परम्परा सुरु गरेको हो। राजधानी काठमाडौंसहित देशभरका नदी, तलाउ र पोखरी किनारमा पूजास्थलहरू आकर्षक रूपमा सजिएका छन्। गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, वागमती, नख्खु र विष्णुमती किनारमा भक्तजनको भीड बढ्दै गएको छ।

व्रतालुहरू चतुर्थीदेखि नै चोखो खानपान अपनाएर सात्विक जीवनशैलीमा बस्ने गर्छन्। केहीले भने कोजाग्रत पूर्णिमापछि नै लसुन–प्याजलगायत तामसी भोजन त्याग गरी शुद्ध रहन्छन्। यसरी आस्था, पवित्रता र सूर्य आराधनाको प्रतीकका रूपमा मनाइने छठ पर्व अहिले सम्पूर्ण नेपाली समुदायको साझा धार्मिक उत्सव बनिसकेको छ।

Facebook Comments Box