नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

बाँके, ९ कात्तिकः राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरदेखि दाङको राजपुर गाउँपालिकासम्म जोड्ने सडकखण्ड निर्माण नहुँदा हुलाकी राजमार्ग अधुरो अवस्थामा रहेको छ। नारायणपुर–राजपुर सडक निर्माणका लागि हुलाकी सडक निर्देशनालयले केही वर्षअघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको भए पनि निर्माण कार्य सुरु हुन सकेको छैन। डिपिआरका अनुसार सो खण्ड निर्माण गर्न करिब रु ६ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ।

हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार सो खण्डमा सडक निर्माण नगरिए हुलाकी राजमार्ग अधुरो नै रहने भएकाले निर्माण प्रक्रिया अघि बढाइएको हो। उहाँका अनुसार स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायमा फाइल पठाइसकिएको र चाँडै स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढाइनेछ।

भण्डारीका अनुसार करिब ३५ किलोमिटर लामो सडकखण्ड निर्माण सम्पन्न गर्न चार वर्ष समय लाग्ने अनुमान गरिएको छ। सो खण्डमा १५ वटा पुल निर्माण गर्नुपर्नेछ। ३५ किलोमिटरमध्ये करिब १८ किलोमिटर क्षेत्र जंगलभित्र पर्ने भएकाले निर्माणमा थप चुनौती रहनेछ। हाल नेपालगञ्जदेखि अगैयासम्मको निर्माण सम्पन्न हुलाकी सडक सर्वसाधारणका सवारीसाधनका लागि सहज बनेको छ।

बाँकेको नारायणपुरबाट दाङको राजपुरसम्मको सडक निर्माणका लागि आवश्यक स्रोत सुनिश्चितको प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमुख भण्डारीले बताए। सडक निर्माण सम्पन्न हुन सके बाँकेको सोनारी क्षेत्रको आर्थिक र भौतिक विकासमा टेवा पुग्ने राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार थारूले बताएका छन्।

Facebook Comments Box