युवालाई आत्मनिर्भर बनाउँदै ‘चखेल’

मकवानपुर, ९ कात्तिक – विदेश गएर मात्र जीवन बदलिन्छ भन्ने धारणा तोड्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका युवाले बारीमै पसिना बगाएर आत्मनिर्भर बन्ने उदाहरण देखाएका छन्। यही माटो र मेहनतले गाउँका युवालाई इन्जिनियर, नर्स, कृषिविज्ञ र प्राविधिकमा रूपान्तरण गरिरहेको छ।

पहाडी भूभागका खेतबारी बाँझिन थालेका बेला चखेलले माटोसँगको सम्बन्ध पुनर्जीवित गरेको छ। काठमाडौँ उपत्यकाबाट करिब आधा घण्टाको दूरीमा रहेको यो सानो गाउँ बिहानैदेखि व्यस्त रहन्छ— कोही मुला उखेल्दै, कोही काउली बजार पठाउँदै, कोही बीउ रोप्ने तयारीमा व्यस्त हुन्छन्।

जम्मा ३६ परिवार रहेको गाउँका हरेक घरमा हरियो बारी देखिन्छ। यहाँका बालबालिकाले पढाइसँगै खेतीको अर्थ बुझ्न थालेका छन्— पसिनाबाटै शिक्षा र सम्मान सम्भव हुन्छ भन्ने उनीहरूको बोध हो। गाउँका किसान गर्वका साथ भन्छन्, “हाम्रो बारीले तरकारी मात्र होइन, इन्जिनियर र नर्स पनि फलाउँछ।”

२९ वर्षका सिभिल इन्जिनियर मिलन गुरुङ भन्छन्, “म काठमाडौँमा पढ्थेँ, तर पढाइको शुल्क यही बारीको आम्दानीले तिरियो। अहिले म पुल र सडक डिजाइन गर्छु, त्यो सम्भव भयो बुबाआमाको पसिना र यसै माटोको कारण।” बिदामा घर फर्किँदा उहाँ बारीमै पसिना बगाउन रुचाउनुहुन्छ।

गुरुङका अनुसार यस वर्ष मुलाको राम्रो मूल्य पाउँदा आम्दानी पनि बढेको छ। गाउँका अधिकांश युवाले यही आम्दानीबाट उच्च शिक्षा हासिल गरेका छन्। अहिले कतिपय जागिरमा छन्, कतिपय अध्ययनरत छन्। त्यसैले गाउँलाई धेरैले “इन्जिनियर फलाउने गाउँ” भनेर चिन्छन्।

६९ वर्षीया बुद्धिमाया तामाङ पनि आत्मनिर्भरताको उदाहरण हुन्। श्रीमान् बेपत्ता भएपछि जीवन धान्न उहाँले बारीलाई अडिग आधार बनाइन्। पहिले मकै लगाएर वर्ष नधान्ने अवस्था थियो, अहिले गोलभेँडा, काँक्रो, बन्दा र सिमीले बारी हराभरा छ।

“पहिले ज्याला गर्न जान्थेँ, अहिले महिनामा ३०–४० हजार कमाउँछु,” उहाँ बताउनुहुन्छ। उहाँका तीन सन्तान अहिले कक्षा १२ पास गरी आत्मनिर्भर बनेका छन्। काठमाडौँ र हेटौँडासम्म सहज यातायात हुँदा बिहानै सङ्कलित तरकारी बजार पठाउन सजिलो भएको छ। उत्पादनको राम्रो मूल्य पाइँदा गाउँमा पुँजी जम्मा हुन थालेको छ।

सिँचाइले ल्याएको हरियाली

इन्द्रसरोवर–५ का वडाध्यक्ष दुतराज तितुङ भन्छन्, “हामीले सिँचाइलाई प्राथमिकता दियौँ, सामूहिक ट्याङ्की र पाइप प्रणाली बनायौँ, किसानलाई प्रविधि सिकायौँ— अहिले उत्पादन दोब्बर भएको छ।” स्थानीय सरकारको पहलमा सामूहिक सिँचाइ प्रणाली, प्रविधिमैत्री खेती र बजार पहुँचले गाउँमा आर्थिक गतिविधि बढाएको छ।

अहिले चखेल गाउँ “सफा गाउँ, हरियो बारी” अभियानमा जोडिएको छ। जैविक खेतीका लागि रासायनिक मल र विषादी प्रयोग घटाइएको छ, जसले वातावरणीय सन्तुलन र जनस्वास्थ्यमा सकारात्मक असर पारेको छ। कृषि ज्ञान केन्द्रले चखेललाई “नमूना आधुनिक कृषि क्षेत्र” बनाउने योजना अघि सारेको छ। किसानलाई जैविक मल, कीट व्यवस्थापन र बजार समन्वयसम्बन्धी तालिम दिइँदैछ।

कृषि पर्यटन र अध्ययन केन्द्र

काठमाडौँ–हेटौँडा जोड्ने चन्द्रागिरि डाँडाबाट देखिने हरियाली चखेल अहिले कृषि पर्यटनको आकर्षण बन्दैछ। यहाँ आउने पर्यटक दृश्यावलोकन मात्र होइन, खेती गर्ने अनुभव लिन पनि आउँछन्। शैक्षिक संस्थाहरूले विद्यार्थीलाई अध्ययन भ्रमणका लागि यही गाउँ पुर्‍याउँछन्, जहाँ उनीहरू खेतमै सिक्छन्।

विसं २०४० पछि सुरु भएको सरकारी कृषि विस्तार कार्यक्रमले गाउँको स्वरूप नै बदलिदियो। किसानले सिँचाइ नहर निर्माण गरे, जैविक मल प्रयोग गर्न थाले र खेतीलाई व्यवसायिक रूपमा अघि बढाए। त्यसपछि गाउँमा हरियाली र समृद्धिको लहर फैलिएको छ। हरेक घर अगाडि हरियो बारी, जैविक खेती, सामूहिक सरसफाइ र वातावरणीय सन्तुलनले अहिले चखेललाई आत्मनिर्भर, आकर्षक र प्रेरणादायी गाउँको रूपमा उभ्याएको छ।

इन्द्रसरोवर–५ मा नेवार, तामाङ, क्षेत्री, ब्राह्मण र मगर समुदाय मिलेर बसेका छन्। यहाँको भालेश्वर महादेव मन्दिर र गुप्तेश्वर गुफा धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण छन्। विसं २०७३ को सर्वेक्षणअनुसार वडाको जनसंख्या ३,६९४ छ, जसको प्रमुख पेसा कृषि नै हो।

Facebook Comments Box