आगलागीका घटनामा वृद्धि, प्राधिकरणद्वारा सावधानी अपनाउन आग्रह
काठमाडौँ, ९ कात्तिक – देशभर आगलागीका घटनामा तीव्र वृद्धि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते मात्र १४ वटा आगलागीका घटना देशभर विभिन्न स्थानमा भएका छन्।
उक्त दिन पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा आगलागीका घटना घटेका थिए। अधिकांश घटना असावधानीका कारण भएका प्राधिकरणले जनाएको छ।
त्यसअघि कात्तिक ६ गते १३ र ५ गते १७ वटा आगलागीका घटना दर्ता भएका थिए। प्राधिकरणले उपलब्ध गराएको तीन दिनको विवरणअनुसार हाल आगलागी सबैभन्दा बढी देखिएको प्रमुख विपद्को रूपमा रहेको छ। मनसुन सकिएर वर्षा रोकिएपछि हावाहुरी र सुख्खा मौसमका कारण आगलागीका जोखिम बढेको भन्दै प्राधिकरणले सावधानी अपनाउन आग्रह गरेको छ।
कात्तिक ७ गते देशभर कुल १८ विपद्का घटना दर्ता भएका थिए। ती घटनामा ६ जना घाइते र झण्डै रु ७७ लाख ९१ हजार बराबरको अनुमानित भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ। सो दिनका अन्य विपद्मा सर्पदंशका दुई, पहिरो एक, चट्याङ र जनावर आक्रमणका एक–एक घटना दर्ता भएका थिए।

