वर्षाले सुनसान भकुण्डे र बेलढुङ्गा होमस्टे
बागलुङ, २८ असार – बागलुङ जिल्लाका लोकप्रिय पर्यटकीय गन्तव्यहरू भकुण्डे र बेलढुङ्गाका सामुदायिक होमस्टेहरू वर्षाका कारण सुनसान भएका छन्। वर्षा सुरु भएसँगै सडक अवरुद्ध हुँदा आन्तरिक तथा बाह्य पर्यटक आउन छोडेका हुन्।
भकुण्डे (बागलुङ नगरपालिका–१०) मा १५ वटा घरमा सञ्चालन भइरहेको होमस्टेमा हिउँदमा चहलपहल हुने गरे पनि बर्खायाममा करिब चार महिना पाहुनाको आवागमन ठप्प हुने घरबास सञ्चालक यमबहादुर थापा बताउनुहुन्छ। “सडक राम्रो भए वर्षभरि पाहुना आउन सक्थे,” उहाँले भन्नुभयो, “सडक अलि बिग्रिएपछि गाडी आउँदैन, मान्छेहरू पैदल आउन रुचाउँदैनन्।”
हाल होमस्टे सञ्चालकहरू खेतबारीको काममा व्यस्त छन्। कोदो रोप्ने, आलु खन्ने जस्ता कृषि काममा लागेका छन्। काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबास पनि अहिले सुनसान छ। सञ्चालक गोपाल श्रीसले असारको पहिलो सातादेखि पाहुना नआएको बताउनुभयो। उहाँका अनुसार, “कात्तिकदेखि जेठसम्म पाहुना आउँथे, बर्खाको चार महिना त बन्द नै हुन्छ।”
श्रीसले गाउँमा उत्पादन हुने अर्गानिक तरकारी न घरबासमा खुवाउन पाइएको छ, न बजारमा पठाउन। काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले ग्रामीण सडक सुधारको काम अघि बढाइएको र क्रमशः सुधार गर्दै होमस्टे पर्यटन प्रवर्द्धन गरिने जानकारी दिनुभयो।

