आज पाँच संसदीय समितिको बैठक, विभिन्न विधेयक र विषयमा छलफल
काठमाडौँ, १५ साउन – संघीय संसदअन्तर्गत आज विभिन्न पाँच संसदीय समितिहरूको बैठक बस्दै छन्। ती बैठकहरूमा विभिन्न विधेयक, राष्ट्रिय योजना तथा सेवा प्रवाहसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची तय भएको छ।
प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजेका लागि बोलाइएको छ। बैठकमा “भूमिसम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक, २०८२” विषयक छलफल हुने कार्यसूची रहेको छ। छलफलका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी तथा भूमि, वन र कानुन क्षेत्रका विज्ञहरू आमन्त्रित गरिएको छ।
यस्तै, दिउँसो १ बजे कानुन, न्याय तथा मानवअधिकार समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको छुट्टाछुट्टै बैठक बस्नेछ। मानवअधिकार समितिको बैठकमा “मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना” को सुझाव मस्यौदा र “नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१” माथि छलफल हुनेछ।
राष्ट्रियसभाअन्तर्गतका तीन समितिहरूको बैठक पनि आजै बस्ने कार्यक्रम रहेको छ।
-
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा मधेस प्रदेशलगायत देशभर देखिएका खानेपानी समस्याका समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाहीबारे छलफल हुनेछ।
-
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ। यस बैठकमा “जलस्रोत विधेयक, २०८१” माथि दफावार छलफल गरिनेछ।
-
त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरिनेछ। छलफलको विषयमा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति अवस्था, समस्या, समाधानका प्रयासहरू तथा समितिसँगका अपेक्षाहरू समेटिएका छन्।
संघीय संसद्का यी बैठकहरूमा कानून निर्माणदेखि विकास र सार्वजनिक सेवा वितरणका विषयहरूमा महत्वपूर्ण छलफल हुने जनाइएको छ।

