पौवादुङमामा तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र सम्पन्न

भोजपुर, ८ कात्तिक – भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ। भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङदेखि केन्द्र च्याङ्ग्रेसम्म कालोपत्र गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार तिवारीभञ्याङ–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकखण्डमध्ये हालसम्म तीन किलोमिटर कालोपत्र सम्पन्न भएको हो। सङ्घीय समपूरक अन्तर्गत गाउँपालिकाको बजेटबाट सडक कालोपत्र गरिएको उहाँले जानकारी दिनुभयो। “यो सडक खण्डको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ,” उहाँले भन्नुभयो, “यस आर्थिक वर्षमा थप कालोपत्रका लागि पनि बोलपत्र आह्वान भइसकेको छ।”

गाउँपालिकाका अध्यक्ष किरण राईका अनुसार यो सडकलाई गाउँपालिकाको गौरवको आयोजना का रूपमा अघि बढाइएको हो। “यो सडक भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग हो,” उहाँले भन्नुभयो, “हाल तीन किलोमिटर कालोपत्र भइसकेको छ। बाँकी अधेँरीघाटसम्मका सबै ३१ किलोमिटर सडक कालोपत्र गर्ने हाम्रो लक्ष्य छ। सीमित बजेटमा पनि दुई वर्षअघिदेखि निरन्तर काम भइरहेको छ।”

सडक कालोपत्रपछि स्थानीय बासिन्दामा उत्साह बढेको वडा नं ३ च्याङ्ग्रेकी सावित्रा खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “तिवारीभञ्याङदेखि च्याङ्ग्रेसम्म कालोपत्र होला भन्ने लागेको थिएन। अहिले सडक कालोपत्र भएपछि आवतजावत सहज भएको छ र हामी निकै खुसी छौँ।”

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यो सडक प्रिमिक्स प्राविधिमा निर्माण भइरहेको हो। नालीसहित आठ मिटर चौडाइको यो सडकले स्थानीय यातायात, व्यापारिक गतिविधि र सेवा पहुँचमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ। यो सडकले पौवादुङमा गाउँपालिकाका छमध्ये पाँच वडालाई जोड्ने भएकाले यसलाई गाउँको आर्थिक र सामाजिक विकासका लागि आधारभूत पूर्वाधारका रूपमा हेरिएको छ।

Facebook Comments Box