नागरिकताको अभिलेख ‘डिजिटाइजेसन’ हुँदै
नवलपरासी) ८ कात्तिक – चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नौ हजारभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका छन्। नयाँ नागरिकता र विद्युतीय राहदानी बनाउनेको सङ्ख्याभन्दा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या उल्लेख्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार साउन १ गतेदेखि असोज मसान्तसम्म ९ हजार ३१५ जना व्यक्तिको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ। तीमध्ये ५ हजार ४०८ जना महिला र ३ हजार ९०७ जना पुरुष रहेका छन्। राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन तीव्ररूपमा भइरहेको उहाँको भनाइ छ।
बैङ्क खाता खोल्नदेखि सरकारी कामका लागि समेत सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्लावासी यसको लागि उत्साहित भई विवरण भर्न आएका छन्। जिल्ला प्रशासन कार्यालय कावासोतीबाट जिल्लावासीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य भइरहेको छ।
त्यस्तै, यही अवधिमा जिल्लामा नयाँ नागरिकताभन्दा धेरैले विद्युतीय राहदानी (पासपोर्ट) बनाएका छन्। साउनदेखि असोज मसान्तसम्म १ हजार ८७१ जनाले नयाँ नागरिकता बनाउँदा ३ हजार ४१२ जनाले राहदानी लिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शर्माका अनुसार सो अवधिमा ९५९ महिला र ८८२ पुरुषले नयाँ नागरिकता लिएका छन्।
त्यस्तै, राहदानी लिनेमा १ हजार ९४९ पुरुष, १ हजार ३४५ महिला र १२१ नाबालक रहेका छन्। वैदेशिक अध्ययन, रोजगारी तथा भ्रमणका लागि राहदानी आवश्यक भएकाले माग उच्च रहेको शर्माले बताउनुभयो। फारम भरेर चाँडो आवश्यक पर्नेलाई काठमाडौँ पठाउने गरिएको उहाँको भनाइ छ।
गत असोज मसान्तसम्म जिल्लाबाट २ हजार ५७९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् — जसमा १ हजार ३३१ पुरुष र १ हजार २४८ महिला रहेका छन्। त्यस्तै, हालसम्म ५०० जना जिल्लावासीको नागरिकता स्क्यान गरी अभिलेख डिजिटाइजेसन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार बाँकी नागरिकता अभिलेख पनि क्रमिक रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। यसले भविष्यमा नागरिकताको अभिलेख सुरक्षित राख्न, खोजी गर्न र सेवाग्राहीलाई छिटो सेवा दिन सहज हुने जनाइएको छ।

