तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौँ, ३ कात्तिक – तिहारको तेस्रो दिन आज देशभर कुकुर तिहार मनाइँदैछ। यस दिन घरघरमा कुकुरलाई टीका लगाई, फूलमाला अर्पण गरी मीठा परिकार खुवाइन्छ। कुकुर तिहारलाई तिहार अर्थात् यमपञ्चकको दोस्रो दिनका रूपमा मनाउने चलन भए पनि, यस वर्ष तिथिको घटबढका कारण यो पर्व तेस्रो दिन परेको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा. डा. देवमणि भट्टराईका अनुसार नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाइन्छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खुवाइएमा यमराजका द्वारपाल श्याम र सबल नामका कुकुरहरूले यमलोकको बाटो सहज बनाइदिने धार्मिक विश्वास रहेको छ।

यही कारणले आज कुकुरको पूजा–आराधना गर्ने परम्परा कायम छ। वैदिक कथनअनुसार, वैवस्वतः मन्वन्तरका कुकुरले धर्मराज युधिष्ठिरको स्वर्गारोहण यात्रामा समेत साथ दिएको उल्लेख पाइन्छ। कुकुरलाई आज्ञापालक, विश्वसनीय र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा सम्मान गरिन्छ।

नरक चतुर्दशी

यसै दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। बिहान अरुणोदयकालमा तीर्थ, नदी वा पोखरीमा स्नान गरी तर्पण र यमदीप बालेर दक्षिणतर्फ फर्काइ बगाउने धार्मिक परम्परा रहिआएको छ। विश्वास अनुसार, यसरी बत्ती बालेर बगाउँदा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने मान्यता छ। यही कार्यलाई “नरके बगाउने” भनिन्छ।

धर्मशास्त्रका अनुसार, यमपञ्चकका पाँचै दिन तिलको तेल लगाई स्नान गर्ने चलन छ। आयुर्वेदका चिकित्सक डा. वंशदीप शर्मा खरेलका अनुसार, यसरी तेल लगाएर स्नान गर्नाले शरीर स्वस्थ रहन्छ र रोग प्रतिरोधात्मक क्षमता बढ्छ। त्यसैले तिहार पर्व स्वास्थ्य, स्वच्छता र आध्यात्मिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ।

Facebook Comments Box