कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ९ भदौ – पानी पर्ने क्रम बिस्तारै घट्दै गएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिजो बाटै पानी पर्न कम भइसकेको छ।

‘पश्चिमतिरबाट बिस्तारै पानी पर्ने क्रम घट्दै गएको छ’, उनले भने, ‘आजदेखि गण्डकी, लुम्बिनी प्रदेश तथा बागमती र मधेशको पनि पश्चिमी भागमा पानी पर्न कम हुने सम्भावना छ।’ कोशी प्रदेशमा भने भोलिसम्मै वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी भएको मौसमविद् लामिछानेले बताए। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि सोमबारसम्म कतै भारी वर्षाको सम्भावना छैन।

महाशाखाले आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यी क्षेत्रबाट बहने नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Facebook Comments Box