मधेश प्रदेश प्रमुखको निर्णयविरुद्ध कांग्रेसको प्रदर्शन
जनकपुरधाम, २९ असोज – नेपाली कांग्रेसका नेता–कार्यकर्ताले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको विरोधमा आज प्रदेश प्रमुख कार्यालय अगाडि नाराबाजी गरेका छन्।
उनीहरूले भण्डारीले लोसपा नेता जितेन्द्र सोनललाई मुख्यमन्त्रीमा गरेको नियुक्ति असंवैधानिक भएको भन्दै निर्णय बदर गर्न माग गरेका हुन्।कांग्रेस कार्यकर्ताले सोनलको नियुक्ति खारेज गर्न माग गर्दै “संविधान मिचियो, निर्णय बदर गर” भन्ने नारासहित प्रदर्शन गरेका थिए।
प्रदेश प्रमुख भण्डारीले केही बेरअघि मात्र लोसपाका नेता जितेन्द्र सोनललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। तर, कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीका १३ सांसदको हस्ताक्षरसहित ५८ सांसदको समर्थन आफूलाई रहेको दाबी गर्दै मुख्यमन्त्री बन्ने दाबी पेस गरेका थिए।
निर्वाचन आयोगमा जनमतका केही सांसदले जनस्वराज पार्टीमा सनाखत गरिसकेको अवस्थामा प्रदेश प्रमुखले हतारमा निर्णय गरेको कांग्रेसको आरोप छ। पार्टी फुटेको र संसदीय संख्या विवादित अवस्थामा संविधानविपरीत निर्णय गरिएको भन्दै कांग्रेसले तत्काल नियुक्ति सच्याउन माग गरेको छ।
नयाँ मुख्यमन्त्रीमा यादव र सोनल दुवैको दाबी परेपछि प्रदेश प्रमुख कार्यालयमा दुवै पक्षबीच छलफलको क्रममा तनाव उत्पन्न भएको थियो। सम्भावित झडप रोक्न प्रदेश प्रमुख कार्यालय परिसरमा ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको जनाइएको छ।

