माटोका भाँडाकुडा र दियो बनाउने पेसा संकटमा

महोत्तरी, २७ असोज – तिहार र छठ पर्व नजिकिँदै गर्दा तराईका कुमाल समुदायले पुस्तौँदेखि गर्दै आएको माटोका भाँडाकुडा र दियो बनाउने पुर्ख्यौली पेसा संकटमा परेको छ। जलेश्वर नगरपालिका–५ का कुमाल ध्रुव रायका अनुसार, बजारमा झिलिमिली बत्ती, प्लास्टिक र धातुका भाँडाकुडाको प्रचलन बढेसँगै माटोका दियो र भाँडाकुडा बिक्री हुन छाडेका छन्।

यसले गर्दा कुमाल समुदायको परम्परागत पेशा अस्तित्व सङ्कटमा परेको हो। जलेश्वर नगरपालिका–६ का कुमाल गणेश पण्डितले बताउनुभयो, “पहिले तिहार र छठका बेला लाखौँका माटाका भाँडा र दियो बेच्थ्यौं, तर अहिले बजारमा बनिबनाउ बत्ती र धातुका वस्तुले स्थान लिएका छन्।”

महोत्तरी गाउँपालिका–४ का कुमाल विजय पण्डितका अनुसार, पहिले माटोका भाँडा “चोखो” मानिन्थ्यो र दियो, ढकनी, घैँटो, मटिया, कुसिया, कुरबारलगायत सामग्रीको माग धेरै थियो। तर अहिले उपभोक्ताको रोजाइ बदलिँदा माटोका भाँडाका माग अत्यन्त घटेका छन्।

जलेश्वर नगरपालिका–१ का सुरेन्द्र पण्डितका भनाइमा, पहिले जिल्लाभरका हाटबजारमा माटोका सामग्री सहजै बिक्री हुने गर्थे, अहिले भने ती बजारमा नगन्य मात्रामा बिक्री हुने अवस्था आएको छ। अतीतमा महोत्तरीका कुमालहरूले बनाएका भाँडाकुडा काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुरदेखि भारतका मधुबनी, दरभङ्गा, सितामढी र पटनासम्म निर्यात हुने गर्थे।

तर अहिले बिक्री घट्नु र लगानी नउठ्दा नयाँ पुस्ता यस पेशातर्फ आकर्षित हुन छोडेको गौशाला नगरपालिका–६ का कुमाल वीरजु पण्डितले बताउनुभयो। यद्यपि बलवा नगरपालिका–७ का पूर्वशिक्षक सुशील यादवका अनुसार, आधुनिक सामग्री प्रचलनमा आए पनि संस्कृति प्रेमी र बुढापाकाहरू अझै पनि माटोकै भाँडाकुडा प्रयोग गर्न रुचाउँछन्, जसले केही कुमाल परिवारलाई आफ्नो परम्परागत सीप जोगाएर जीविका चलाउने प्रेरणा दिएको छ।

Facebook Comments Box