राष्ट्रिय सुरक्षा नीति परिमार्जन गरिने, साइबर सुरक्षादेखि आर्थिक सुरक्षासम्म समेटिने

काठमाडौँ, १६ जेठ – सरकारले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा नीतिलाई समयानुकूल परिमार्जन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान आवश्यकता अनुरूप राष्ट्रिय सुरक्षा नीतिको पुनरावलोकन तथा अद्यावधिक गरिने जानकारी दिनुभयो।

सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत मुलुकको सुरक्षा प्रणालीलाई आधुनिक, प्रविधिमैत्री तथा प्रभावकारी बनाउने लक्ष्य लिएको छ। बढ्दो साइबर अपराध, सीमापार अपराध, सङ्गठित अपराध, मानव बेचबिखन, लागुऔषध कारोबार तथा डिजिटल सुरक्षासम्बन्धी चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा नीतिमा व्यापक सुधार आवश्यक रहेको सरकारको निष्कर्ष छ।

नयाँ सुरक्षा नीतिमा परम्परागत सुरक्षा अवधारणासँगै साइबर सुरक्षा, सूचना सुरक्षा, जैविक जोखिम, विपद् व्यवस्थापन तथा आर्थिक सुरक्षालाई समेत प्राथमिकताका साथ समावेश गरिने जनाइएको छ। राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको कार्यक्षेत्र, समन्वय तथा जिम्मेवारीबारे समेत विस्तृत अध्ययन गरी पुनर्विचार गरिने सम्भावना रहेको छ।

रणनीतिक सुरक्षाविज्ञ तथा नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्दले वर्तमान सुरक्षा चुनौतीलाई सामना गर्न परम्परागत राष्ट्रिय सुरक्षा नीतिको परिमार्जन आवश्यक रहेको बताउनुभयो। उहाँले सुरक्षा निकायहरूको भूमिका र जिम्मेवारी स्पष्ट नहुँदा अन्योल तथा आरोप–प्रत्यारोपको अवस्था सिर्जना हुने गरेको उल्लेख गर्दै स्पष्ट राष्ट्रिय सुरक्षा नीति निर्माणको सरकारी घोषणा समयसापेक्ष र आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

सरकारले सीमा सुरक्षा, आन्तरिक शान्ति, विपद् उद्धार तथा संवेदनशील पूर्वाधारको सुरक्षालाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने योजना अघि सारेको छ। नेपालको भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै छिमेकी मुलुकसँगको सुरक्षा सहकार्य, सीमा व्यवस्थापन तथा रणनीतिक हितको संरक्षणलाई पनि नीतिगत प्राथमिकतामा राखिने जनाइएको छ। यसैगरी, सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत सुरक्षाकर्मीको सेवा अवधि तथा पेन्सन प्रणालीबीच रहेको विद्यमान अन्तरको अध्ययन गरी आवश्यक समायोजन गर्ने घोषणा गरेको छ।

Facebook Comments Box