प्रतिनिधिसभामा आजबाट बजेटमाथि छलफल सुरु हुँदै
काठमाडौं, १८ जेठ – प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजबाट सामान्य छलफल सुरु हुँदै छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ। प्रस्ताव प्रस्तुत भएपछि विभिन्न दलका सांसदहरूले बजेटका प्राथमिकता, कार्यक्रम, राजस्व नीति तथा खर्च व्यवस्थापनका विषयमा धारणा राख्नेछन्।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा बजेटमाथिको सामान्य छलफल प्रारम्भ हुने र सांसदहरूले क्रमशः आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सरकारले प्रस्तुत गरेको बजेटमा आर्थिक वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाएको छ। अब संसद्मा हुने छलफलबाट बजेटका विभिन्न पक्षबारे सांसदहरूले सुझाव र टिप्पणी प्रस्तुत गर्नेछन्।

