महिला सशक्तीकरण र नेतृत्व राष्ट्र निर्माणको आधार : राष्ट्रपति पौडेल
काठमाडौँ, १६ जेठ – राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्दै मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ। ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नारासहित शनिबार मनाइने आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीप्रति शुभकामना व्यक्त गर्नुभएको हो।
उहाँले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र असमानताको अन्त्य गर्दै सम्मानजनक तथा सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ। घर, समाज, कार्यस्थल तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्द्धन गर्न राज्य र नागरिक समाजबीचको सहकार्य थप सुदृढ हुनुपर्ने उहाँको भनाइ छ।
राष्ट्रपति पौडेलले महिला अधिकारको सुनिश्चितताका लागि योगदान पु¥याउने सबै व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै राष्ट्रिय महिला अधिकार दिवसले महिलाको हकअधिकार संरक्षण र प्रवर्द्धनमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। वि.सं. २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी चार महत्त्वपूर्ण विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै आएको छ।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले महिलाको श्रम, सीप, सिर्जनशीलता र क्षमतालाई विकास प्रक्रियाको मूलप्रवाहमा समावेश गर्दै आत्मनिर्भर बनाउने, स्रोत–साधन र अवसरमा समान पहुँच सुनिश्चित गर्ने तथा निर्णय प्रक्रियामा सहभागिता बढाउने उद्देश्यले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गर्नुभएको छ।
उहाँले शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला तथा उद्यमशीलताका क्षेत्रमा नेपाली महिलाले उल्लेखनीय सफलता हासिल गरेको भन्दै यसलाई थप विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ। राष्ट्रपति पौडेलले सामाजिक सोच, व्यवहार, प्रथा र परम्परामा सकारात्मक परिवर्तन ल्याई महिलाको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न तथा लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माणका लागि सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

