आज पनि देशका विभिन्न क्षेत्रमा वर्षा र हुरीको सम्भावना

काठमाडौं, १७ जेठ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा बदली, वर्षा तथा हुरीको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण मौसममा बदली, वर्षा र हावाहुरीको अवस्था देखिने अनुमान गरिएको हो।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छाएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली रहनेछ।

बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनीको तराई र कोशी तथा बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ। महाशाखाले विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा केही स्थानमा हुरी चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक जानकारीमा ध्यान दिन आग्रह गरेको छ।

Facebook Comments Box