विभिन्न कारागारबाट भागेका कैदीबन्दीमध्ये पाँच हजार ५४७ जना अझै फरार

काठमाडौँ, २७ असोज – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीमध्ये पाँच हजार ५४७ जना अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण ठूलो संख्यामा कैदीबन्दी कारागारबाट भागेका थिए।

विभागका अनुसार हालसम्म ९ हजार ८ जना कैदीबन्दी पुनः कारागार फर्किसकेका छन्, तर बाँकी फरार कैदीबन्दीको खोजी अभियान जारी छ। आइतबार बसेको गृहमन्त्री स्तरीय बैठकले फरार कैदीबन्दीलाई फिर्ता ल्याउनका लागि समन्वित र प्रभावकारी अभियान सञ्चालन गर्ने निर्णय गरेको विभागले जनाएको छ।

फरार कैदीबन्दीको नामावली र विवरण सम्बन्धित कारागार कार्यालयहरूबाट संकलन गरी गृह मन्त्रालयमार्फत निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, राहदानी विभाग, यातायात व्यवस्थापन विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग र नापी विभागलगायतका निकायहरूमा पठाइने भएको छ।

त्यसैगरी, ७७ वटै जिल्ला प्रशासन कार्यालय र सेवाग्राहीको आवागमन बढी हुने सार्वजनिक निकायहरूमा पनि उक्त विवरण उपलब्ध गराइनेछ। विभागले फरार कैदीबन्दीहरूको नामावली आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।

विभागका अनुसार, कुनै पनि व्यक्ति सार्वजनिक सेवा लिन आउने क्रममा फरार सूचीमा परेमा त्यहीँबाट पक्राउ गरिनेछ। फरार कैदीबन्दीको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक ढंगले अघि बढाउने निर्णय गरिएको पनि विभागले स्पष्ट पारेको छ।

Facebook Comments Box