महानगरको छात्रवृत्ति परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौं, १८ जेठ – काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागीमध्ये १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने परीक्षार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।
आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन भएको परीक्षामा २२ हजार २० जना विद्यार्थी सहभागी भएका थिए। उनीहरूले काठमाडौं महानगरपालिकाभित्रका ८३ वटा परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए। महानगरपालिकाले परीक्षा सम्पन्न भएको २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरेको जनाएको छ।
यो छात्रवृत्ति कार्यक्रम महानगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालन गरिएको हो। नतिजा हेर्न परीक्षार्थीहरूले अनलाइन आवेदन भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र मोबाइल वा इमेलमार्फत प्राप्त पासवर्ड प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ।
काठमाडौं महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णयमार्फत महानगरभित्र कक्षा ११ र १२ सञ्चालन गर्ने निजी (संस्थागत) विद्यालयमा छात्रवृत्ति प्रदान गर्न प्रवेश परीक्षा सञ्चालन गर्दै आएको छ। महानगरका अनुसार यस कार्यक्रमबाट गत वर्षसम्म देशभरका करिब १५ हजार विद्यार्थी लाभान्वित भइसकेका छन्।
गत वर्ष सञ्चालन गरिएको छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए भने यस वर्ष सहभागीको सङ्ख्या झण्डै दोब्बर पुगेको छ। अघिल्लो वर्ष १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका थिए। तीमध्ये करिब चार हजार ५०० जनाले मात्रै छात्रवृत्ति प्राप्त गरेका थिए। यस वर्ष भने छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या गत वर्षको तुलनामा केही बढ्ने महानगरपालिकाले जनाएको छ।

