जेनजी प्रतिनिधिको आह्वानः आगामी निर्वाचनमा सबै दल सहभागी हुन आग्रह
काठमाडौँ, २५ असोज – जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै राजनीतिक दल र सरोकारवालालाई सहभागी हुन आह्वान गरेका छन्।
राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले लोकतान्त्रिक अभ्यासमा रहेका दलहरूले निर्वाचनबाट पछाडि नहट्नुपर्ने बताएका हुन्।
जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचन लोकतान्त्रिक प्रक्रियाको मूल आत्मा भएको उल्लेख गर्दै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको अपेक्षा रहेको बताए।
“निर्वाचनमा सबै दलहरू सहभागी हुनुहोस्, यो लोकतान्त्रिक अधिकार हो। जनताले छाने भने जो योग्य छन् उनीहरू नै निर्वाचित हुनेछन्। निष्पक्ष प्रतिस्पर्धा होस्, नयाँ शक्ति पनि उदाउन सक्छ,” ढुङ्गानाले भने।
उनीहरूले वर्तमान मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई अगाडि बढाउन योगदान दिने व्यक्तिहरूको समावेश हुनुपर्ने स्पष्ट धारणा पनि व्यक्त गरे।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू र सरकारबीच आगामी निर्वाचनका विषयमा छलफल भएको थियो।
उक्त बैठकमा राजनीतिक दलहरूले शान्ति, सुरक्षा र निष्पक्ष वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका थिए भने सरकारले सबै दललाई निर्वाचनमा भाग लिन आह्वान गरेको थियो।

