एमालेले आफ्ना सांसदहरुलाई कुन संसदीय समितिको सदस्य हुने हो रोज्न आग्रह

काठमाडौँ, २० चैत – नेकपा एमालेले आफ्ना सांसदहरुलाई कुन संसदीय समितिको सदस्य हुने हो भनी रोज्न आग्रह गरेको छ । एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार सांसदहरुलाई स्वार्थ बाझिने संसदीय समिति नरोज्न भनिएको छ ।

‘विषयको रुची, योग्यता, सम्बन्धित विषयको ज्ञानका आधारमा समिति रोज्न भनिएको छ । साथसाथै स्वार्थ बाझिने समिति नरोज्न आग्रह गरिएको छ’, एमालेका प्रमुख सचेतक गिरीले भने ।

उनका अनुसार एमाले सांसदहरुले यही चैत २४ गतेसम्म आफू कुन समितिमा रहने हो त्यसबारेसंसदीय दलको कार्यालयमा जानकारी गराउनुपर्ने छ । त्यसपछि संसदीय समितिमा रहने आफ्नो पार्टीका सांसदहरुको नामावली संघीय संसद सचिवालयलाई उपलब्ध गराउने एमालेको तयारी छ ।

आइतबार प्रतिनिधि सभा निमायली २०७९ पारित भएसँगै दलहरु संसदीय समिति गठनको गृहकार्यमा लागेका छन् । सोही क्रममा एमालेले आफ्ना सांसदहरुलाई कुन संसदीय समितिको सदस्य हुने हो रोज्न आग्रह गरेको हो ।

Facebook Comments Box