हैदरावादलाई पाँच विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा कायमै

चितवन, १५ वैशाख – इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । गएराति सनराइजर्स हैदरावाद विरुद्धको खेल जित्दै गुजरात शीर्ष स्थानमा कायमै रहन सफल भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य गुजरातले ५ विकेट गुमाएर पुरा गर्‍यो ।गुजरातका ओपनर्स रिद्धिमान साहले ६८ र शुभमन गिलले २२ रन बनाए ।

यस्तै डेभिड मिलरले १७ रन योगदान गरे । राशिद खानले ११ बलमा ३१ रन र राहुल टेविटियाले २१ बलमा ४० रन बनाए । दुवै खेलाडीले छैटौं विकेटका लागि ५९ रनको अविजित साझेदारी गरे ।

हैदरावादको तर्फबाट उमराम मलिकको बलिङ उत्कृष्ट रह्यो । उनी एक्लैले गुजरातका आधा खेलाडीलाई पवेलियन फर्काइदिए । २५ रन दिएर ५ विकेट लिएका उनी म्यान अफ द म्याच चुनिए । यस खेलपछि ८ खेलबाट १४ अंकका साथ गुजरात शीर्ष स्थानमा कायम छ । ८ खेल नै खेलेको हैदरावाद १२ अंकका साथ दोस्रो स्थानमा छ ।

Facebook Comments Box