पर्सा र बारामा हैजाविरुद्ध खोप अभियान सञ्चालन हुने
काठमाडौँ, २३ असोज – पर्सा र बारामा हैजाको जोखिम बढेपछि ती दुई जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। गत भाद्र ६ गते पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुरली टोलबाट सुरु भएको हैजाको प्रकोप पछिल्लो समय दुवै जिल्लामा फैलिएको छ। हालसम्म पर्सा र बारामा गरी एक हजार ६८५ जना हैजाका बिरामी फेला परेका छन्।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालका अनुसार “हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२” यही असोज र कात्तिक महिनामा सञ्चालन हुने छ। पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि सुरु हुने सो अभियान तिहारअघि सम्पन्न गर्ने योजना छ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले अभियानका लागि १० लाख १८ हजार १०० मात्रा खोप पठाउने तयारी गरेको छ। एक वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिलाई सो खोप दिइनेछ।
डा. लालका अनुसार यो मुखबाट खुवाइने खोप एक पटक मात्रै दिइनेछ र पूर्ण रूपमा सुरक्षित रहेको प्रमाणित भइसकेको छ। गर्भवती महिला तथा स्तनपान गराइरहेका आमाहरूलाई पनि यो खोप दिन सकिने उनले बताउनुभयो।
हालैको वर्षा र बाढीका कारण दूषित पानी र सरसफाइको कमीले हैजाको जोखिम बढेकाले सो अभियान अत्यावश्यक भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

