यस वर्षको तिहारमा कात्तिक ४ गते म्हः पूजा तथा ५ गते किजा पूजा मनाउने भक्तपुर नगरपालिकाको निर्णय
भक्तपुर, २२ असोज – यस वर्षको तिहारमा भक्तपुरका नेवार समुदायले कात्तिक ४ गते म्हः पूजा र कात्तिक ५ गते किजा पूजा (भाइटीका) मनाउने भएका छन्। भक्तपुर नगरपालिकाले तलेजुका पुजारी र ज्योतिषहरूसँगको छलफलपछि सो निर्णय गरेको हो। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकमा तलेजुका पुजारीहरू तथा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ र केदारप्रसाद दैवज्ञ जोशीको सहभागितामा तिथिमितिका आधारमा निर्णय गरिएको हो।
निर्णयअनुसार, कात्तिक २ गते आइतबार काग तिहार, ३ गते सोमबार बिहान कुकुर तिहार र दिउँसो ३ बजेपछि औंशी तिथि लाग्ने भएकाले साँझ लक्ष्मी पूजा गरिनेछ। कात्तिक ४ गते मंगलबार दिउँसो ४ः२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि लाग्ने भएकाले म्हः पूजा तथा कात्तिक ५ गते साँझ ६ः२० बजेपछि द्वितीया तिथि पर्ने भएकाले किजा पूजा अर्थात् भाइटीका मनाइनेछ।
पञ्चाङ्ग निर्णायक समितिले भने यस वर्ष कात्तिक ४ गते खाली, ५ गते म्हः पूजा र ६ गते किजा पूजा गर्नेगरी साइत सार्वजनिक गरेको छ। भक्तपुर नगरपालिकाले पछिल्ला वर्षहरूमा पञ्चाङ्ग निर्णायक समितिको निर्णयभन्दा फरक तिथिमिति निर्धारण गर्दै तलेजुका पुजारी र स्थानीय ज्योतिषहरूको सुझावअनुसार तिहार मनाउने परम्परा अघि बढाएको छ।
यस कारण भक्तपुरका नेवार समुदायबीच केहीले नगरपालिकाको निर्णय र केहीले पञ्चाङ्ग समितिको निर्णयअनुसार तिहार मनाउने प्रचलन कायम छ।

