रौतहटमा बाढीले ४१२ परिवार विस्थापित, सरकारी कार्यालयहरू डुबानमा

रौतहट, २० असोज – गत शनिबार र आइतबारको अविरल वर्षाले रौतहट जिल्लामा ठूलो जनधन र संरचनागत क्षति पुर्‍याएको छ । सदरमुकाम गौरलगायतका क्षेत्र बाढीले डुबानमा परेका छन् ।

पूर्वतर्फको बागमती नदी र पश्चिमतर्फको लालबकैया नदी दुवै किनारबाट पसेको बाढीका कारण गौर हालसम्म जलमग्न रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

बाढीबाट हालसम्म ४१२ परिवार विस्थापित भएका छन् । तीमध्ये सबैभन्दा बढी दुर्गाभगवती गाउँपालिकामा २३६ परिवार प्रभावित भएका छन् ।

सो गाउँपालिकाको वडा नं. ४ पचरुखी र वडा नं. ५ बर्डहवा क्षेत्रमा एक हजारभन्दा बढी घरभित्र बाढी पसेको र धानबाली पूर्णरूपमा नष्ट भएको प्रहरी उपरीक्षक गिरीले बताउनुभयो ।

गौरसँगै जोडिएको राजदेवी नगरपालिकामा पनि ८९ परिवार विस्थापित भएका छन् । बाढीले गौर, राजपुर, गुजरा, कटहरिया, इशनाथ, माधवनारायण, गढीमाई, वृन्दावन, मौलापुर, फतुवा विजयपुर नगरपालिका तथा यमुनामाई गाउँपालिकामा समेत ठूलो क्षति पुर्‍याएको छ ।

सडक अवरुद्ध

बाढीका कारण रौतहटभित्रका प्रमुख सडकहरू पूर्णरूपमा अवरुद्ध भएका छन् । गौर भन्सारदेखि बीपीचोकसम्म सडकमा पानी जमेकाले आवागमन बन्द छ ।

मौलापुर–सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने मुख्य सडकखण्डको ठूलो भाग बाढीले बगाएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ ।

सरकारी कार्यालय डुबानमा

गौरस्थित अधिकांश सरकारी कार्यालय पनि बाढीको पानीले डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार, कार्यालयहरू खोल्ने निर्देशन भए पनि सेवाग्राही आउन नसक्ने अवस्था छ ।

डुबानमा परेका कार्यालयहरूमा जिल्ला प्रशासन, गौर नगरपालिका, मालपोत, नापी, पूर्वाधार, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, गौर भन्सार, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालयलगायत रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर हेडक्वार्टर हजमनिया कार्यालयसमेत पूर्ण रूपमा डुबानमा परेको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी लक्ष्मीपुर बेलबिछुअवा, गौर, औरैया र सरमजुअवास्थित सशस्त्र प्रहरीको बिओपीहरू पनि प्रभावित भएका छन् । रौतहटमा हालसम्म नदीमा डुबेर एक जनाको र चट्याङ लागी तीन जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Facebook Comments Box