बाढीका कारण सुनसरीमा एक हजारभन्दा बढी घर प्रभावित
सुनसरी, २१ असोज – गत शनिबार र आइतबार परेको लगातार वर्षासँगै आएको बाढीले सुनसरी जिल्लामा एक हजारभन्दा बढी घर प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशव थेबेका अनुसार बाढीले इनरुवा, धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगञ्ज क्षेत्रका गरी १,३७० घर प्रभावित भएका छन्।
बाढीका कारण करिब ५,४७४ जनामा प्रत्यक्ष असर परेको छ। प्रहरी उपरीक्षक थेबेले प्रभावित घरहरूमा बाढीको पानी पसेको र केही घर आंशिक रूपमा क्षतिग्रस्त भएको जानकारी दिए।
सुरक्षाकर्मीहरूको टोलीले बाढीमा फसेका ३४४ जनालाई उद्धार गरेको छ। उद्धार गरिएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
सदरमुकाम इनरुवामा मात्रै करिब २०० परिवार विस्थापित भएका छन्। पश्चिमतर्फ सुनसरी खोला र पूर्वतर्फ गडन खोलामा आएको बाढीका कारण इनरुवा नगरपालिका–३, ४, ९ (बबिया) र १० (जल्पापुर) का बस्तीहरू डुबानमा परेका छन्।
स्थानीय प्रशासनका अनुसार क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको छ। बाढीपीडितहरूलाई अस्थायी आश्रय र राहत सामग्री वितरणका तयारी भइरहेको बताइएको छ।

