वर्षा र हुण्डरीले सुनसरीका केराखेतीमा ठूलो क्षति

सुनसरी, २१ असोज – शनिबार र आइतबार परेको वर्षासँगै आएको हावाहुण्डरीका कारण सुनसरी जिल्लाका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ।

सदरमुकाम इनरुवासहित भोक्राहा र हरिनगरलगायतका क्षेत्रका व्यावसायिक केराखेतीमा बगानका बोट ढलेका र फलामैमा नोक्सानी भएको किसानहरूले बताएका छन्।

भोक्राहा नरसिंह गाउँपालिका–२ का किसान एयुब साहमियाँले आठ वर्षदेखि केराखेती गर्दै आएका छन्। सात बिघा जग्गा भाडामा लिएर करिब रु छ लाख बैंक ऋण लगानीमा गरिएको खेतीमध्ये तीन बिघा एक कठ्ठा क्षेत्रफलमा रहेको केराखेतीमा ठूलो क्षति पुगेको उहाँले बताए।

“यो वर्ष करिब रु १३ लाखभन्दा बढीको क्षति भयो,” साहमियाँले भने, “हरेक वर्ष बाढी र हुरीले केराखेतीमा रु १० देखि २५ लाखसम्म क्षति पु¥याउँछ।”

त्यसैगरी, स्थानीय किसान वीरेन्द्र ठाकुरले सात कठ्ठामा करिब रु एक लाख लगानीमा लगाएको केराबालीमा समेत ठूलो क्षति पुगेको जनाएका छन्।

जिल्लाभर यस वर्ष करिब ५३० हेक्टर क्षेत्रमा केराखेती गरिएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए। “बाढी र हावाहुरीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको छ,” उहाँले भने।

प्राकृतिक विपद्का कारण जिल्लाका किसानले व्यावसायिक बाली उत्पादनमा निरन्तर क्षति बेहोर्नुपरेको कृषकहरूले गुनासो गरेका छन्।

Facebook Comments Box