अविरल वर्षाबाट देशभर कृषि तथा पशुपालन क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन कार्य सुरु
काठमाडौँ, २२ असोज – हालैको अविरल वर्षाबाट देशभर कृषि तथा पशुपालन क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन कार्य सुरु गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सातै प्रदेशमा रहेका कृषि कार्यालयहरूलाई प्रारम्भिक विवरण संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको हो ।
मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार बाढी र पहिरोका कारण बाली, पशुधन तथा गोठ–गोठालोमा भएको क्षतिको विस्तृत विवरण संकलन गरिँदैछ । उहाँले भन्नुभयो, “प्रभावित कृषकका खेतबारीमा भएको बाली नोक्सानी, पशुपंक्षीको मृत्यु वा बेपत्ता अवस्था, गोठ तथा फार्मको क्षति लगायतका विवरण स्थानीय तहको सहकार्यमा संकलन भइरहेको छ ।”
मन्त्रालय मातहतका प्रदेशस्तरीय कृषि तथा पशुपंक्षी कार्यालयहरूले स्थानीय तहसँग समन्वय गरी स्थलगत तथ्याङ्क संकलन गर्नेछन् । संकलित विवरणको आधारमा किसानको योगदान मूल्याङ्कन गरी आवश्यक राहत, सहजीकरण तथा सुविधा प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
जोशीका अनुसार बाली तथा पशुधन बिमा गरेका किसानका हकमा बिमाको दाबी प्रक्रिया सहज बनाउन सहजीकरण गरिनेछ । त्यस्तै, प्रभावित किसानलाई मल, बिउ–विजन, प्रविधि, प्राविधिक सिप र आवश्यक परे क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । उहाँले थप्नुभयो, “सङ्कलित तथ्याङ्कका आधारमा भविष्यमा जोखिम न्यूनीकरण, सतर्कता र अनुकूलनका उपायका लागि विस्तृत योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।”

