फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने, आयोगले कार्यतालिका स्वीकृत गर्‍यो

काठमाडौं, २० असोज – आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुने भएको छ। निर्वाचन आयोगले सोमबार बसेको बैठकमार्फत सो निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको हो।

आयोगद्वारा स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम सञ्चालन हुनेछ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गतेदेखि कार्यालय स्थापना हुने आयोगले जनाएको छ। समानुपातिक प्रणालीका उम्मेदवारको बन्दसूची पुस १८ र १९ गते पेश गर्नुपर्नेछ।

निर्वाचन प्रचारप्रसार फागुन ३ गतेदेखि १८ गतेसम्म गर्न पाउने र त्यसपछि प्रचार निषेध अवधि रहनेछ। मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने छ। मतदानपछि दुवै प्रणालीका मतपेटिका संकलन गरी मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न चाहने राजनीतिक दलले मंसिर १ देखि १० गतेभित्र दर्ता प्रक्रियामा सहभागी हुनुपर्नेछ। हाल आयोगमा दर्ता कायम रहेका दलले मात्रै निर्वाचन प्रयोजनका लागि दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

निर्वाचनमा सहभागी हुन चाहने दलहरूले कात्तिक ३० गतेअघि राजनीतिक दल दर्ता प्रमाणपत्र प्राप्त गर्नुपर्ने आयोगले स्मरण गराएको छ। आयोगले सरोकारवालासँग समन्वय, परामर्श र छलफलमार्फत निर्वाचन तयारी अघि बढाइने जनाएको छ।

Facebook Comments Box