खोलाले बगाउँदा बालकको मृत्यु, दुई बालिका बेपत्ता
रौतहट, २० असोज – रौतहटमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने दुई बालिका बेपत्ता भएका छन्। राजपुर नगरपालिका–८ बलुवा गोठटोलका १० वर्षीय अरवाज मियाको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो। मृतक बालक गोनवर मियाका छोरा हुन्।
दिउँसो करिब २ बजे घर नजिकै रहेको बकैया खोलामा नुहाउन गएका बालकलाई खोलाले बगाएको स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र गिरी र सशस्त्र प्रहरी फतुवा बेसका निरीक्षक पूर्णबहादुर तामाङको टोलीले ४० मिनेटपछि बालकलाई फेला पारेको थियो।
उपचारका लागि राजपुर प्राथमिक स्वास्थ्य केन्द्र फरदहवामा ल्याइए पनि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए। यस्तै, आजै दिउँसो देवाही गुनाही नगरपालिका–६ कर्कचटोलमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा कर्कचटोलका रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमाकुमारी रहेको प्रहरीले जनाएको छ।
दिउँसो करिब साढे २ बजेदेखि बेपत्ता भएका ती बालिकाको खोजी कार्य प्रहरी र स्थानीयवासीले तीव्र पारेका छन्। प्रारम्भिक जानकारीअनुसार उनीहरू खेत नजिकैको भँगालोमा नुहाउन गएका बेला पानीको तीव्र बहावमा परेका हुन्।

