हेलिकप्टरमार्फत चार गर्भवती महिलाको उद्धार

काठमाडौँ, २० असोज – नेपाली सेनाको हेलिकप्टरमार्फत चार जना गर्भवती महिलाको आज हवाई उद्धार गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत गर्भवती र सुत्केरी महिलाका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत उनीहरूको उद्धार गरिएको हो।

उद्धार गरिएका महिलामध्ये इलामको माईजोगमाई–५ सिरसिरे, सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२ पुलभञ्ज्याङ र सङ्खुवासभाको भोटखोला–३ हुङगुङका गर्भवती छन्।

कठिन भौगोलिक अवस्था र अवरुद्ध सडकका कारण स्थलीय यातायात सम्भव नभएपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

उद्धारपछि ती महिलालाई तत्काल उपचारका लागि झापाको बी एन्ड सी अस्पताल र विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालमा पुर्‍याइएको हो।

Facebook Comments Box