प्रदेश गौरबका दुई सडक योजनाको काम अगाडि बढेन
पर्वत, १६ असोज – गण्डकी प्रदेश सरकारले गर्वका आयोजना भनेर अघि सारेका दुई सडक निर्माण योजना वर्षौंदेखि अलपत्र परेका छन् । ठेक्का सम्झौता भएको ६ वर्ष बितिसक्दा पनि सडक निर्माण कार्य अधुरै रहेको छ ।
जिल्लाको जलजला गाउँपालिकामा पर्ने मिलनचोक–सल्यान–घाखेत–धारापानी ठोट्नेरी सडक र लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङ्दी सडक निर्धारित समयमै पूरा हुन नसकी झन् लामो समयदेखि ढिलाइ हुँदै आएको हो । यी सडक दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि हालसम्म क्रमशः ६४ र ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
रु २८ करोड १३ लाखमा ठेक्का लागेको मिलनचोक–सल्यान–घाखेत–धारापानी सडक २०७६ मङ्सिर ६ गतेदेखि सुरु भएको थियो । तर २०७८ मङ्सिर ५ गते सक्नेगरी तोकिएको म्याद पटकपटक थप्दा पनि अहिले सल्यानदेखि धारापानीसम्मको काम अड्किएको छ ।
कार्यालय प्रमुख सन्तोष अर्यालका अनुसार निर्माण सामग्रीको अभाव र भौगोलिक कठिनाइलाई देखाउँदै ठेकेदार कम्पनीले काम ढिलाइ गरिरहेको छ ।
यस्तै, रु ११ करोड २२ लाख ६६ हजारमा सम्झौता भएको लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङ्दी सडक चार वर्षदेखि अधुरो छ । हालसम्म ३५ प्रतिशत मात्र प्रगति भएको र ठेकेदार लामो समयदेखि सम्पर्कमै नरहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।
सडक निर्माणका लागि अहिलेसम्म रु चार करोड १३ लाख भुक्तानी भइसकेको भए पनि काम अगाडि बढेको छैन । महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसालका अनुसार नाली व्यवस्थापन नगरी बाटो भत्काएर छोडिएकाले स्थानीयवासी र कार्यालय जाने सर्वसाधारणलाई दैनिक आवतजावतमा ठूलो समस्या भएको छ ।
निर्माण कम्पनीले सम्झौताअनुसार काम सुरु नगरे अब ठेक्का तोड्ने तयारी गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

