भक्तपुरको प्रसिद्ध नवदुर्गा नाच आजदेखि सुरु

भक्तपुर, १६ असोज – भक्तपुरको प्रसिद्ध नवदुर्गा नाच आजदेखि सुरु भएको छ । तान्त्रिक नाचको रूपमा परिचित यो नृत्य प्रत्येक वर्ष विजयादशमीका दिनबाट प्रारम्भ हुने परम्परा छ । नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाका अनुसार यस नाचलाई औपचारिक रूपमा प्रारम्भिक नृत्य भनिन्छ ।

परम्पराअनुसार तौलाछें टोलस्थित झट्टाप्वा नासद्यः मा नवदुर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुसार पूजा गरी घंघला सिं ल ल्हायगु (घुँघरु हस्तान्तरण) गरेपछि प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ ।

यस क्रममा नवदुर्गा मन्दिरका पुजारी कर्माचार्यले बनमालाहरुलाई सिद्धि थाप्ने विधि सम्पन्न गराउँछन् । यसअन्तर्गत खिं बाजा, ताःबाजा, कायं बाजाघंघला नास द्यः (नृत्यनाथ) अगाडि राखी तान्त्रिक पूजापाठ गर्ने परम्परा रहेको अध्यक्ष बनमालाले बताए ।

पूजापछि नास द्यःलाई भेडाको भोग (बलि) चढाइन्छ । त्यसपछि बाजा र घुँघरु प्राप्त गरेका बनमालाहरूले नास द्यः अगाडि बाजा बजाउँदै नवदुर्गा नृत्यको पहिलो प्रस्तुत गर्ने प्रचलन छ ।

Facebook Comments Box